नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले संस्कृति र परम्पराको जगेर्ना गर्न सदभावपूर्ण तरिकाले चाडपर्व मनाउनुपर्ने बताएका छन् ।
बुधबार कांग्रेस मकवानपुर जिल्ला समितिद्वारा आयोजित तीज विशेष साँस्कृतिक कार्यक्रमलाई सम्बाधेन गर्दै सभापति बानियाँले भड्किलो तरिकाले चाडपर्व नमनाउन आग्रह गरे । उनले मौलिक संस्कृति र परम्परा झल्किने गरी तीज पर्व मनाउन सबैलाई आग्रह गरे ।
बागमती प्रदेश सभा सदस्य समेत रहेका उनले यस्तो खाले चाडपर्वहरुले महिला हिंसालगायतका हिंसाजन्य घटनाहरुको अन्त्य गर्न सबैलाई प्रेरणा मिलोस् भन्दै शुभकामना दिए ।
उनले अबको संविधान संशोधन हुँदै गर्दा महिलालाई अन्याय नहुने गरी व्यवस्था गर्न आफुले भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । उनले महिलाहरुको अधिकारमाथि गठबन्धनको संस्कारले गडबड भएको भन्दै अब त्यस्तो हुन नदिने बताए ।
उनले मुलुकलाई शान्ति र समृद्ध बनाइराख्न हरेक घर–घरमा शान्त्ति र समृद्धि आउनुपर्ने उल्लेख गर्दै नगरपालिका, गाउँपालिका, वडा सबैले आयआर्जनको काममा महिलालाई जोड्नुपर्ने बताए ।
जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा हेटौंडा–४, स्थित रोयल पार्टी प्यालेसमा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्लाको विभिन्न गाउँपालिकाका सभापति, उपसभापति, विभिन्न संघसंस्थाका प्रतिनिधि, कांग्रेस जिल्लाका क्रि याशील महिलाहरु, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा कांग्रेस महिला विभागकी इन्दिरा न्यौपानेले महिलाहरुले पनि अवसर पाए मुलुकको नेतृत्व गर्न सक्ने बताएकी थिइन् ।
उनले सम्पूर्ण महिलाहरुलाई तीज पर्वले खुसी, उत्साह, समृद्धि प्राप्त होस् भन्दै शुभकामना समेत दिइन् । कार्यक्रममा जिल्लाका हजारौँ महिलाहरुले दर खाँदै सांस्कृतिक कार्यक्रममा सहभागी भएका थिए ।