डढेलो नियन्त्रणका लागि १५ मेसिन र ३७ किमि अग्निरेखा तयार
खटिने जनशक्तिको बीमा पनि सुरक्षित

हेटौंडा । देशभर डढेलोको उच्च जोखिममा रहेको जिल्लामध्ये एक मकवानपुरमा यस वर्ष डढेलो नियन्त्रणका लागि विशेष सुरक्षा रणनीति र भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ ।

डिभिजन वन कार्यालय मकवानपुरका अनुसार ३७ किलोमिटरभन्दा बढी अग्निरेखा सफाइ, वन हेरालुको परिचालन र आधुनिक मेसिनको प्रयोगले गर्दा यस वर्ष डढेलोको प्रभाव न्यून देखिएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जनशक्तिको दुर्घटना बीमा समेत सुनिश्चित गरिएको छ।

मंगलबार कार्यालयले ‘वन डढेलो व्यवस्थापन सप्ताह’ अन्तर्गत आयोजना गरेको पत्रकार सम्मेलनमा डिभिजनल वन प्रमुख राकेश प्रसाद चन्द्रवंशीले कार्यालयको सक्रियता, जनचेतना र पूर्वतयारीका कारण यस वर्ष हालसम्म जिल्लामा वन डढेलोबाट ठूलो क्षति नभएको जानकारी गराएका छन् ।

विगतको तुलनामा क्षति कम
कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको फागुनदेखि जेठसम्म डढेलोबाट ५ सय ७४.२५ हेक्टर वन क्षेत्र प्रभावित भएको थियो । सो अवधिमा १ सय २ वटा रुख, १ हजार १ सय ३७ खम्बा, १० हजार २ सय ९९ लाथ्रा र १ लाख ३५ हजार ६२ बिरुवा नष्ट भएका थिए । तर, चालु आर्थिक वर्षको चैत महिनामा मात्रै करिब ५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको र त्यसलाई समयमै नियन्त्रणमा लिइएको डिभिजन वनले जनाएको छ ।

कार्यालयका अनुसार  देशभरका डढेलोको उच्च जोखिममा रहेका ७७ जिल्लामध्ये मकवानपुर १८ औं स्थानमा पर्दछ । जसमा बागमती र बकैया गाउँपालिका क्षेत्रलाई जिल्लाको डढेलोको ‘हटस्पट’ मानिन्छ ।

डढेलो नियन्त्रणका लागि कार्यालयको पहल
वन अधिकृत हेमकुमार पाठकका अनुसार यस वर्ष डढेलो नियन्त्रणका लागि प्राविधिक र भौतिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइएको छ । जसअन्तर्गत ३७.१ किलोमिटर पुरानो अग्निरेखा सफा गरिएको छ भने ४ किलोमिटर नयाँ अग्निरेखा निर्माण गरिएको छ । डढेलो लागेको समयमा पानीको सहज उपलब्धताका लागि २१ स्थानमा पानी पोखरी निर्माण भइरहेको जानकारी गराए ।

वनलाई व्यवस्थित बनाउन २ सय २५ हेक्टर क्षेत्रमा ‘थिनिङ’ अर्थात् वन पत्ल्याउने कार्य सम्पन्न गरिएको छ । साथै, आधुनिक प्रविधिको प्रयोग गर्दै सुकेका पात व्यवस्थापनका लागि १५ वटा ‘लिफ ब्लोअर’ मेसिन सञ्चालनमा ल्याइएको छ । डढेलोको जोखिमपूर्ण समय फागुनदेखि जेठसम्मका लागि प्रत्येक सामुदायिक वनमा कम्तीमा दुई जना वन हेरालु परिचालन गरी निगरानीलाई तीव्र पारिएको कार्यालयले जनाएको छ ।

दुर्घटना बीमा र सुरक्षाको व्यवस्था
डढेलो नियन्त्रणमा खटिने जनशक्तिको सुरक्षालाई ध्यानमा राख्दै वन तथा वातावरण मन्त्रालयले ५ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमाको व्यवस्था गरेको छ । मानवीय लापरबाही, जथाभावी आगो बाल्ने प्रवृत्ति र मौसमी सुख्खापन डढेलोका मुख्य कारण रहेकाले समुदायस्तरमै सचेतना फैलाउन आवश्यक रहेको अधिकृत पाठकले बताए । बढ्दो तापक्रम र लामो समयको खडेरीका कारण आगामी दिनमा डढेलोको जोखिम अझै बढ्न सक्ने भएकोले कार्यालयले नियमित गस्ती, द्रुत उद्धार टोलीको परिचालन र स्थानीय समुदायसँगको समन्वयलाई थप सुदृढ बनाउने रणनीति समेत लिएको छ ।

कार्यक्रममा सहभागीहरूले वन संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न डढेलो नियन्त्रण गर्नु सबैको साझा जिम्मेवारी भएकोमा जोड दिएका छन् । वन क्षेत्रमा जथाभावी आगो नबाल्न र डढेलो लागेको देखेमा तुरुन्त नजिकैको वन कार्यालय वा सुरक्षा निकायमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.