बागमती प्रदेशको राजधानी हेटौंडामा दक्षिण कोरियामा कार्यरत इपिएस प्रणाली अन्तर्गतका नेपाली कामदारहरुको परिवारका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम हुन लागिएको छ ।
उक्त कार्यक्रम नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोइका (कोरियन इन्टरनेशनल कर्पोरेसन एजेन्सी) र के-हामी परियोजनाको संयुक्त आयोजना तथा अंकुर नेपालको सहकार्यमा हुन लागिएको हो ।
बुधबार अंकुर नेपालको हेटौंडा सम्पर्क समितिले पत्रकार सम्मेलन गर्दै जेठ १६ गते हेटौंडाको रोयल पार्टी प्यालेसमा पहिलो पटक उक्त कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष किशोर डंगोलले बताए ।
उक्त कार्यक्रम कोरियामा रहेका श्रमिकका परिवारको हितमा हुने भन्दै समितिका सचिव माधव सापकोटाले कार्यक्रममा श्रमिकका मातापिता र श्रीमान/श्रीमती मात्रै सहभागी हुन पाइने जानकारी गराए । ‘कोरियामा काम गर्नुभएको व्यक्तिको नाम प्रस्ट हुनुपर्ने र घरपरिवारले श्रमिकसँगको नात स्पष्ट खुलाउनु पर्नेछ । अन्यथा कार्यक्रममा सहभागी हुन पाइने छैन ।’, सापकोटाले भने ।







