मंसिर २० गते हेटौंडामा ‘ह्याङ तामाङ’ चलचित्रको विशेष प्रिमियर शो

हेटौंडा | तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘ह्याङ तामाङ’ आगामी मंसिर २० गते, शनिबार हेटौंडामा विशेष प्रिमियर शो हुने भएको छ ।

चलचित्र निर्माण टोली र कलाकारहरूको तर्फबाट शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत चलचित्रबारे जानकारी गराइएको हो ।

हेटौंडा–४ स्थित ओम्याक्स सिनेमामा सार्वजनिक प्रिमियरका रूपमा प्रदर्शन गरिने यस चलचित्रले तामाङ जातिको पहिचान, भावनात्मक बन्धन र समसामयिक जीवनचर्यालाई गहिरो रूपमा प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ ।

चलचित्रका नायक सिताराम गोलेले तामाङ रीतिरिवाज, भाषा, कला र संस्कृतिसँगै पछिल्ला राजनीतिक तथा सामाजिक परिवेशलाई समेटेर चलचित्र तयार गरिएको बताए । उनले यो चलचित्रमा एक्शन र भावनात्मक दुवैको बेजोड संयोजन रहेको उल्लेख गरे ।

अर्का नायक जय स्याङ्तानले काठमाडौं, मनाङलगायत विभिन्न भौगोलिक तथा सांस्कृतिक क्षेत्रका दृश्यहरूले चलचित्रलाई अझ वास्तविक र प्रभावशाली बनाएको जानकारी दिए । उनका अनुसार फरकफरक स्थानमा गरिएको छायांकनले तामाङ समुदायको जीवनशैलीलाई जीवन्त रूपमा उतार्न मद्दत गरेको छ ।

चलचित्र निर्माण टोलीले तामाङ समुदाय मात्र नभई सबै दर्शकले रुचाउने खालको फिल्म भएको जिकिर गर्दै हलमै आएर हेर्न आग्रह गरेका छन् । चलचित्रको निर्देशन प्रवल लामा तथा सहनिर्देशन निमा लामाले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.