हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन २९ गतेदेखि हेटौंडाको टिसिएन चौरमा ‘दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सव’ हुने भएको छ ।
खेलकुद क्षेत्रको विकास र भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजित महोत्सवको तयारीलाई तीव्र पारिएको छ।
महोत्सवमा राष्ट्रियस्तरका महिला भलिबल र तेक्वान्दोसहित जिल्लास्तरीय पुरुष भलिबल, कराँते, ब्याडमिन्टन र दौड प्रतियोगिताहरू आयोजना गरिनेछन् । करिब ८० लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सवमा ४ सय व्यावसायिक स्टलहरू रहनेछन् भने खेल क्षेत्रका १० जना व्यक्तित्वलाई जनही २५ हजार रुपैयाँसहित सम्मान समेत गरिनेछ ।
स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति र विभिन्न जातजातिका सांस्कृतिक झाँकी मुख्य आकर्षण रहने यस महोत्सवले खेल, कृषि र पर्यटनलाई एकै ठाउँमा जोड्ने लक्ष्य राखेको छ ।







