मेलाको रौनकले जुर्मुराउँदै हेटौंडा
भोलिदेखी हेटौंडाको टिसिएन चौरमा खेलकुद महोत्सव हुँदै

हेटौंडा । खेलकुद, कृषि र पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्ने उद्देश्यले हेटौंडाको टिसिएन चौरमा भोलि फागुन २९ गतेदेखि ‘खेलकुद, कृषि तथा पर्यटन महोत्सव’ सुरु हुँदैछ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुन लागेको यस महोत्सवमा राष्ट्रिय तथा जिल्लास्तरीय गरी ६ वटा विभिन्न विधामा खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिनेछन् ।

चैत्र १४ गतेसम्म चल्ने महोत्सवको तयारीलाई आयोजकले तीव्र पारेको छ भने हाल महोत्सव स्थलमा स्टल, खेल मैदान र बाल उद्यान निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

​महोत्सवको मुख्य आकर्षणको रूपमा रहने राष्ट्रिय महिला भलिबल प्रतियोगिता चैत्र ४ देखि ८ गतेसम्म आयोजना हुनेछ, जसको विजेताले नगद ३ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। त्यस्तै, फागुन २९ र ३० गते थानाभर्‍याङस्थित कभर्ड हलमा जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता तथा सोही दिन १० किलोमिटर दौड प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

चैत्र १ देखि ३ गतेसम्म जिल्लास्तरीय पुरुष भलिबल, ९ र १० गते कराँते तथा ११ देखि १३ गतेसम्म राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिएका छन्।

​महोत्सव अवधिभर ४ सयवटा व्यावसायिक स्टलहरू रहनेछन् भने दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । खेलकुद क्षेत्रका १० जना व्यक्तित्वलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गर्ने तयारी समेत गरिएको यस महोत्सवको कूल लागत करिब ८० लाख रुपैयाँ अनुमान गरिएको छ । महोत्सवबाट संकलित बचत रकमले मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेल सामग्री खरिद गर्ने लक्ष्य राखिएको सदस्य मदन उप्रेतीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.