मन्त्री थापाद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालकाे निरीक्षण

हेटौंडा । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा तथा बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको सेवा तथा भवनको निरीक्षण गरिएको छ।

चिकित्सा शिक्षा आयोगको अनुगमनको पूर्वसन्ध्यामा निरीक्षण भ्रमणले प्रतिष्ठानको आगामी योजनाका विषयमा थप छलफल भएको छ ।

निरीक्षणका क्रममा मन्त्री थापाले प्रतिष्ठानद्वारा सञ्चालनमा ल्याइएको बीएस्सी नर्सिङ, बिपिएच, बिएमएलटी, बी फर्मा कार्यक्रमहरूको प्रशंसा गर्दै एमबीबीएसको पूर्वतयारीमा लाग्न आग्रह गरे । हाल सञ्चालनमा रहेको बीएस्सी नर्सिङ कार्यक्रमको सिट संख्या २० बाट बढाएर ४० पुर्‍याउने तयारीमा रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवाली, शिक्षाध्यक्ष डा. दिनेश कुमार लम्साल, रजिस्ट्रार भीमसागर गुरागाईं, निर्देशक डा. रामचन्द्र सापकोटा, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईं, पूर्व सदस्य हिरा लामालगायत चिकित्सक एवम अन्य कर्मचारीहरुको उपस्थितिमा स्वास्थ्य मन्त्री थापाले चिकित्सा शिक्षा आयोगको मापदण्ड अनुसार सबै पूर्वाधार र शैक्षिक तयारीलाई पूर्णता दिने विषयमा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको बताए ।

त्यसैगरी प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले हेटौंडा अस्पतालको समग्र स्वास्थ्य सेवा प्रवाहमा देखाएको कार्य सराहनीय भएकोले यसलाई कायम राख्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानको तर्फबाट उपकुलपति डा. ज्ञवालीले प्रतिष्ठानले एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने आधार निर्माण भइसकेको बताउँदै, अब चिकित्सा शिक्षा आयोगको स्वीकृतिको पर्खाइ मात्र रहेको उल्लेख गरे।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.