हेटौंडा | प्रसूति सेवा सहज गर्ने उद्देश्यले मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ४ स्थित ज्यान्द्रुङमा बर्थिङ सेन्टर तथा ओटिसी सेन्टर सञ्चालन गरिएको छ ।
गाउँपालिकाले बर्थिङ सेन्टरसँगै कुपोषित बालबालिकाको उपचार गर्नको लागि ओटिसी सेन्टर समेत सञ्चालनमा ल्याएको छ ।
शनिबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सेन्टरको उद्घाटन गर्दै आमा र बच्चाको स्वास्थ्यका लागि र होम डेलिभरीको अन्त्यका लागि बर्थिङ सेन्टर सञ्चालन गरिएको बताए । आगामी वर्षदेखि कैलाशको सबै वडामा बर्थिङ सेन्टर रहने उनको भनाइ छ ।
गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक राख्न र सुत्केरी हुने बेला स्वास्थ्यकर्मीहरुकै हेरचाह र उपचार गर्दा विभिन्न जोखिमबाट बच्न र बचाउन सकिने भएकाले वर्थिङ्ग सेन्टरबाट सेवा लिन सबैलाई अध्यक्ष मुक्तानले आग्रह गरे ।
‘प्रत्येक वडामा आमा सुरक्षा कार्यक्रम र पोषण कार्यक्रम भइरहेको छ, यहाँका नागरिकले स्वास्थ्य परिक्षण समयमै पाइरहेको अवस्थामा यस वर्थिङ्ग सेन्टरले थप टेवा पुग्नेछ’, अध्यक्ष मुक्तानले भने, ‘भौगोलिक विकटता छ, जसले होम डेलीभरीको संख्या बढ्न गइरहेको छ । त्यसको अन्त्यको लागि स्वास्थ्य स्वयंसेविकाहरुको ठुलो भूमिका रहन्छ, जिरो बनाउन तर्फ लाग्नुस, अनि मात्र स्वास्थ्य क्षेत्रमा गरिएको लगानीले सार्थकता पाउनेछ ।’
अध्यक्ष मुक्तानले गर्भवति महिलाहरुलाई स्वास्थ्य संस्थाबाटै कम्तिमा ८ पटक गर्भ जाँच गर्न आग्रह समेत गरे ।
कैलाश-४ का वडाध्यक्ष तीलकबहादुर मुक्तानको अध्यक्षतामा बर्थिङ सेन्टरको उद्घाटन भएको हो ।
‘डोकोमा घण्टौं समय हिड्ने दिन गए, अब गाउँघरमै सुत्केरी र बच्चाको सरल र सहज ढंगले हेरचार र उपचार हुन्छ’, वडाध्यक्ष मुक्तानले भने । वर्थिङ्ग सेन्टरमा स्वास्थ्यकर्मी २४ घण्टै रहने भएकोले राय सल्लाह सुझाव अनुरुप सेवा लिन सबै गर्भवती आमाहरुलाई उनले आग्रह समेत गरे ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवका अनुसार जग्गा अभावका कारण बर्थिङ सेन्टर निर्माणमा ढिलाई भएको थियो । स्थानीय कर्णबहादुर थिङले तीन रोपनी जग्गा दान गरे पश्चात् पालिकाद्वारा १३ लाख लगानीमा सेन्टर निर्माण गरिएको हो । उक्त सेन्टरमा गोपेघारी, देउतीस, धुस्राङ, देउराली, लिच्चे क्षेत्रका स्थानीयहरुले सेवा लिन सक्ने प्रमुख यादवले बताए ।
उक्त कार्यक्रममा बर्थिङ सेन्टर निर्माणको लागी ३ रोपनी जग्गा उपलब्ध गराएका थिङलाई दोसल्ला र सम्मानपत्रले सम्मान समेत गरिएको थियो ।







