मनहरीले जटिल रोगका विरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने

मनहरी गाउँपालिकाले आर्थिक अवस्था कमजोर भै मृगौला प्रत्यारोपण, डायलासिस सेवा लिइरहेका, क्यान्सर र मेरुदण्डको पक्षघात भएका विरामीलाई मासिक ५ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।

जटिल प्रकृतिका रोग लागेकाहरुलाई औषधि उपचारमा सहयोग पुर्याउने र सहज जीवनयापनमा मद्दत पुर्याउने उद्देश्यका साथ पालिकाले मासिक निर्वाह भत्ता उपलब्ध गराउन लागेको हो ।

मनहरी गाउँपालिकाको सोमबार भएको गाउँसभाको १७ औं अधिवेशन (नीति तथा कार्यक्रम)मा गाउँपालिकाले अध्यक्ष रञ्जन कालाखेतीले यस्तो जानकारी दिएका हुन् । यस्तै गर्भवती महिलाको आधारभुत जाँच तथा भिडियो एक्सरे सेवा निःशुल्क प्रदान गरिने र सत्प्रतिशत आमाहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी गराइ पूर्ण संस्थागत सुत्केरी भएको पालिका निर्माण गर्न कार्यक्रम सञ्चालन गरिनुका साथै कडा रोग लागेका गरिब तथा अतिविपन्न, असहाय र पूर्ण अपांग भएकाको लागि एम्बुलेन्स सेवामा छुट दिइने भएको छ ।

मनहरीले सबै वडाको घरघरमा शुद्ध खानेपानी पुर्‍याउने कार्यलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ । पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउन विशेष अभियान सञ्चालन गर्नुका साथै फोहोर संकलन तथा व्यवस्थापन कार्यलाई अझ प्रभावकारी बनाइने भएको छ । पालिकामा बसोबास गर्ने चेपाङ, बोटे, बनकरीयालगायतका अल्पसंख्यक तथा मुस्लिम र दलित समुदायलाई विकासको मुलप्रवाहीकरणमा ल्याउने योजना सञ्चालन गरिने भएको छ ।

पालिकाभित्र सम्भाव्य पर्यटकीय क्षेत्रको विकास र सञ्चालनको उचित मार्गदर्शनका लागि कानुन तर्जुमा गरी मनहरी पर्यटन विकास बोर्ड गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । मनहरी गाउँपालिकाले ज्येष्ठ नागरिक दिवा विश्रामस्थल निर्माण गर्ने, बालबालिका तथा युवासँग ज्येष्ठ नागरिक अन्तरसम्वाद कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

पूर्वाधार विकास अन्तर्गत रजैया–लामिटार–चकरी सडक निर्माण कार्यलाई तीव्रता दिने, रजैया–दर्दरा पक्की पुल समयमै निर्माण सम्पन्न गर्न सहयोग र समन्वय गर्ने तथा गाउँपालिकाभित्रको महत्वपूर्ण सडकलाई कालोपत्रे तथा ढलान र ग्रावेल गर्ने कामलाई निरन्तरता दिने भएको छ । ४ नम्बर वडाको भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न र ३ नम्बर वडाको भवन निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिने नीति कार्यक्रममा उल्लेख छ । पालिकाका जोसुकै व्यक्तिको मृत्यु भएमा अध्यक्ष वा उपाध्यक्ष उपस्थित भई समवेदना व्यक्त गर्ने र सम्बन्धित वडाको सिफारिसको आधारमा मृत्यु संस्कारमा सहयोग पुर्याउन २० हजार रुपैयाँ सहयोग गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । पुराना राम्रा नीति कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रमलाई समावेश गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।

गाउँसभा अधिवेशनको शून्य समयमा केही वडा सदस्यहरुले आफ्नो वडामा भएका समस्याहरुको विषय उठान गर्दै समाधानका लागि आग्रह गरेका थिए । सभामा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीसहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.