जेसीआई हेटौंडा वर्ष २०२६ को लागि अध्यक्षमा पराजुलीको उम्मेदवारी
'सबल र समावेशी जेसीज'को एजेन्डासहित प्यानल घोषणा

​हेटौंडा । युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था जेसीआई हेटौंडाको वर्ष २०२६ को नेतृत्वका लागि सन्तोष पराजुलीले आफ्नो बलियो उम्मेदवारी प्रस्तुत गरेका छन् ।

लामो समयदेखि संस्थाको विभिन्न जिम्मेवारीमा रहेर कुशलतापूर्वक कार्यसम्पादन गरिसकेका पराजुलीले ‘सबल र समावेशी जेसीज’को एजेन्डासहित शाखा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

​सन् २०१९ देखि जेसीआईमा आबद्ध पराजुलीले यसअघि शाखाको सचिव, उपाध्यक्ष, तालिम संयोजक र कार्यकारिणी उपाध्यक्ष जस्ता महत्वपूर्ण पदहरूमा रहेर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । उनले विशेषगरी सन् २०२० मा ‘एरिया बी’ संयोजक, २०२१ मा सचिव र २०२४ मा तालिम संयोजकको रूपमा संस्थाको प्रशासनिक तथा क्षमता विकासको पक्षलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको जेसीज सदस्यहरु बताउँँछन् ।

अध्यक्ष पदका उम्मेदवार पराजुलीले आफ्नो कार्यकालका लागि सदस्य सशक्तीकरण, दिगो नेतृत्व, समावेशी वातावरण र संस्थागत सुदृढीकरण चारवटा मुख्य स्तम्भहरू सार्वजनिक गरेका छन् ।​ जसमा सदस्यहरूको व्यक्तिगत र व्यावसायिक वृत्तिविकासका लागि उच्चस्तरीय तालिम प्रदान गर्ने, संस्थाको दीर्घकालीन विकासका लागि रणनीतिक योजना र नयाँ पुस्ताको संलग्नता सुनिश्चित गर्ने, सामूहिक निर्णय प्रक्रिया र सबै सदस्यहरूको विचारको सम्मान गर्ने पद्धति बसाल्ने तथा प्रशासनिक र नेतृत्व संरचनालाई प्रविधिमैत्री र व्यवस्थित बनाउने योजना रहेको उनले बताए ।

​उनका अनुसार आगामी निर्वाचनका लागि आफ्नो नेतृत्वमा एक बलियो टिम निर्माण गरिएको छ । उनको टिमबाट कार्यकारिणी उपाध्यक्ष पदमा विपिन ताम्राकार र संजय कुमार न्यौपाने उम्मेदवार रहेका छन् भने उपाध्यक्ष पदका लागि बिकेक बानिया, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्यले आफ्नो उम्मेदवारी प्रस्तुत गरे ।

‘विगत ६ वर्षमा मैले जेसीआईबाट धेरै कुरा सिकेको छु । अब ती अनुभवहरुलाई संस्थाको बृहत्तर हितमा लगाउने समय आएको छ ।’, ​उम्मेदवारी घोषणा गर्दै पराजुलीले भने, ‘हाम्रो प्यानलले जेसीआई हेटौंडालाई नयाँ उचाइमा पुर्‍याउन पूर्ण रूपमा समर्पित छ।’

​हेटौंडाका युवाहरुमाझ लोकप्रिय र कुशल संगठकको छवि बनाएका पराजुली र उनको प्यानलका उम्मेदवारहरुलाई जेसीआई वृत्तमा उत्साहका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.