एनआरएनएलाई मन्त्री काफ्लेको आग्रहः एकता अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं

दक्षिण कोरिया । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने बताएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले एनआरएनए कोरियालाई नेपाली समुदायको साझा संस्था बनाई नेपाल र नेपालीको हितमा केन्द्रित गर्नूपर्नेमा जोड दिए ।

‘गैरआवासीय नेपालीबीच देखिएको मतभेद समाधान गरी संस्थालाई अझ जिम्मेवार र जनमुखी बनाउनु आजको आवश्यकता हो’, उनले भने, ‘एनआरएनए सशक्त, समावेशी र परिणाममुखी बन्न सके मात्र विश्वभर छरिएका नेपालीको हित सुनिश्चित गर्न सक्छ।’

उनले विदेशमा आर्जित सीप, ज्ञान र अनुभवलाई संस्थागत रुपमा नेपालमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। ‘यहाँ सिकिएको प्रविधि, दक्षता र अनुशासन नेपालमा लगियो भने त्यो समृद्धिको भरपर्दो आधार बन्न सक्छ’, मन्त्री काफ्लेले भने

विदेशको भूमिमा रहेर पनि मातृभूमिको समृद्धिको सपना देख्ने सबैलाई धन्यवाद दिँदै उनले भने, ‘कोरियामा आर्जित पूँजी र सीपलाई अब उत्पादनमुखी क्षेत्रमा लगानी गरौं, सरकार सहकार्य गर्न तयार छ।’

उनले बागमती प्रदेश सरकार गैरआवासीय नेपालीहरूसँग आवश्यक समन्वय गर्न तयार रहेको भन्दै योजनाबद्ध रूपमा नेपालमा लगानी गर्न आग्रह गरे । साथै, कोरियामा रहेका समस्याग्रस्त नेपालीहरूको पहिचान गरी समाधानका लागि पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका विभिन्न पदाधिकारीहरूले एनआरएनएको बृहत्तर हितमा विचार प्रस्तुत गरेका थिए ।

संघको नयाँ नेतृत्व चयनका लागि भोलि (आइतबार) निर्वाचन हुने कार्यक्रम छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.