आन्तरिक एकता र संगठन बलियो बनाउन तरुण नेता भेटवालको आग्रह

मकवानपुर | नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र मतभिन्नतालाई सामाजिक सञ्जालमा अतिरञ्जित नगर्न सबै कार्यकर्तालाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा एक भावनात्मक सन्देश सार्वजनिक गर्दै भेटवालले अहिलेको संवेदनशील राजनीतिक परिवेशमा ‘होसमा लिएर निर्णय गर्ने’ परम्परालाई जोगाउनुपर्ने बताएका हुन् ।

उनका अनुसार, मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको वर्तमान चरणमा नेपाली कांग्रेसप्रति आमनागरिकको ठूलो विश्वास र प्रतीक्षा छ ।

उनले भने, ‘जोशले होइन, होश र विवेकले निर्णय लिने हाम्रो ऐतिहासिक संस्कार हो । अहिले नागरिक कांग्रेसको भूमिकातर्फ आशाभरीय दृष्टिले हेरिरहेका छन् । त्यसैले पार्टीभित्रको एकता अझ मजबुत बनाउन आवश्यक छ।’

आगामी निर्वाचनको तयारी र पार्टीको महाधिवेशन नजिकिएसँगै संगठन सुदृढीकरण नै प्राथमिकता हुनुपर्नेमा उनले जोड दिए । भेटवालले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनु लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भएपनि त्यसलाई व्यक्तिगत द्वन्द्व वा मनोवैज्ञानिक विभाजनमा रूपान्तरण गर्न नहुने बताए ।

‘हामी सबैको उद्देश्य एउटै हो— बलियो र सक्षम कांग्रेस। त्यसैले प्रतिस्पर्धाले संगठनलाई चुस्त बनाओस्, न कि कमजोर ।’, उनले भने, ‘आन्तरिक मतभिन्नतालाई सामाजिक सञ्जालमा मनोरञ्जनको विषय नबनाऔं । यसले बाहिरी धारणा नकारात्मक बनाउँछ ।’

भेटवालले पार्टीभित्रको सहअस्तित्व, पारस्परिक सम्मान र भाईचारा नै एकताको आधार हुने विश्वास व्यक्त गरे ।

साथै, उनले नेपाल तरुण दलका सम्पूर्ण अग्रज, साथी तथा कार्यकर्ताहरूलाई संगठन, अनुशासन र साझा राजनीतिक लक्ष्यलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.