भ्रम फैलाउनेलाई गाउँ-गाउँबाट लखेट्नुपर्ने: मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी निर्वाचनको सन्दर्भमा भ्रम छर्ने र मीठा भाषणमा मात्रै सीमित रहने नेताहरूलाई गाउँ–गाउँबाटै बिदा गर्नुपर्ने बताएका छन् ।

निर्वाचनका क्रममा भ्रम र प्रचार–प्रपञ्च फैलाउने व्यक्तिबाट सचेत रहन मतदातालाई उनले आग्रह गरेका छन् ।

शनिबार मनहरी गाउँपालिका–१ तल्लो मकरीस्थित राधाकृष्ण मन्दिर रोड स्ल्याब ढलान कार्यको उद्घाटन गर्दै उनले आगामी फागुनमा हुन लागेको भनिएको निर्वाचनलाई लक्षित गर्दै ‘मीठा भाषण गर्ने धेरै देखिन्छन्, तर काम गर्ने कमै हुन्छन्’ भन्दै मतदाताले काम गर्ने उम्मेदवार पहिचान गर्नुपर्ने आवश्यकता औँल्याए ।

मुख्यमन्त्री बानियाँले भने, ‘कुरा धेरै जान्ने तर काम नगर्नेहरूले फेसबुक र युट्युबमा राम्रो-राम्रो भाषण गर्छन्, तर व्यवहारमा केही गर्दैनन् । जनताले त्यस्ता व्यक्तिलाई पहिचान गरी कुरा र काम दुवै गर्नसक्ने नेता रोज्नुपर्छ।’, उनले भ्रम सिर्जना गर्ने व्यक्ति वा समूहलाई गाउँ–गाउँबाटै पछाडि धकेल्नुपर्ने बताउँदै ‘के गर्नुभयो ?  के गर्ने लक्ष्य छ ? ‘ भनी जनताले प्रश्न गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले न्यायमुखी, गाउँमुखी र विकासमुखी कार्यलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले आगामी बजेट पनि त्यही अवधारणाअनुसार विनियोजन गरिने जानकारी दिए । विकाससँगै सीप, तालिम र आय-आर्जनलाई जोड्ने नीति अवलम्बन गरिएको बताउँदै उनले नागरिकको जनमतको कदर गर्दै जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालिकाले नागरिकको आय-आर्जन बढाउन सीपमूलक कार्यक्रम विस्तार गरिएको जानकारी दिए । दूध उत्पादन गर्ने किसानलाई समयमै भुक्तानी दिलाउन डेरीहरूसँग सम्झौता गरी काम भइरहेको उल्लेख गर्दै उनले अनुदान र समयमै भुक्तानको व्यवस्था भएपछि दुग्ध उत्पादनमा नागरिकको रुचि बढेको बताए ।

त्यसैगरी, विपन्न तथा शोकमा पुगेका परिवारलाई काजकिरिया खर्च उपलब्ध गराउने भएका कारण स्थानीय सरकारले जनविश्वास बढाएको उनले बताए ।

बागमती प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट मनहरी–१ तल्लो मकरी राधाकृष्ण मन्दिर रोड स्ल्याब ढलान कार्य थालिएको हो । ६ मिटर चौडाइ र ७ सय ३२ मिटर लम्बाइको सो सडक निर्माणका लागि कुल ७४ लाख ९६ हजार रुपैयाँमा ठेक्का सम्झौता भई गुनी निर्माण सेवाले काम थालेको हो ।

सडक स्ल्याब ढलान शिलान्यास कार्यक्रम मनहरी गाउँपालिका–१ का वडा अध्यक्ष शिवप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.