हेटौंडा । जेसीआई हेटौंडाको वर्ष २०२६ का लागि कार्यकारिणी उपाध्यक्ष पदमा विपिन ताम्राकारले उम्मेदवारी घोषणा गरेका छन् ।

ताम्राकारले वर्ष २०२६ का अध्यक्ष पदका उम्मेदवार सन्तोष पराजुलीको समूहबाट आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
सन् २०१६ देखि जेसीआई हेटौंडाबाट जेसीज अभियानमा सक्रिय ताम्राकारले संस्थाका विभिन्न महत्त्वपूर्ण पदहरुमा रहेर आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् । उनले सन् २०१८ मा उपाध्यक्ष, २०२० मा भवन निर्माण संयोजक, २०२४ मा कोषाध्यक्ष र २०२५ मा कानूनी सल्लाहकारको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन् ।
जेसीजबाहेक ताम्राकार अन्य सामाजिक संघसंस्थाहरुमा पनि उत्तिकै सक्रिय छन् । उनी साइक्लिङमार्फत स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा क्रियाशील संस्था हेटौंडा राइडर्स क्लबको कार्यसमिति सदस्य समेत हुन् ।
त्यसैगरी, स्थानीय समस्याहरुलाई वडा तथा नगरपालिकासम्म पुर्याउन र सरकारी योजनाहरूलाई टोलस्तरमा कार्यान्वयन गराउन उनले सशक्त टोल विकास संस्थाको उपाध्यक्षका रुपमा अगुवाइ गरिरहेका छन् ।
विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका ताम्राकारले संस्थागत विकास र युवा सशक्तीकरणका लागि आफूले कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
‘संस्थाको गरिमा उच्च राख्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा थप योगदान पुर्याउने मेरो लक्ष्य छ,’ उनले भने, ‘आशा छ जेसीज सदस्यज्यूहरुले मलाई र हाम्रो समूहलाई सहयोग गर्नुहुनेछ’
जेसीआई हेटौंडाको नेतृत्व चयनका लागि आगामी निर्वाचनको सरगर्मी बढ्दै गएको छ ।






