जेसीआई हेटौंडा वर्ष २०२६ को नेतृत्वका लागि भएको निर्वाचनमा सन्तोष पराजुली अध्यक्ष पदमा विजयी भएका छन् ।
शनिबार हेटौंडामा सम्पन्न शाखाको अधिवेशनमा आफ्ना प्रतिस्पर्धी जीवन ढकाललाई पराजित गर्दै पराजुली विजयी भएका हुन् ।
कुल १ सय ८७ मत खसेको निर्वाचनमा पराजुलीले १ सय ७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी ढकालले ७८ मत ल्याए । खसेको मतमध्ये २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षसँगै पराजुलीको प्यानल नै नेतृत्वमा आएको छ । उनको प्यानलबाट कार्यकारिणी उपाध्यक्षका उम्मेदवार संजय कुमार न्यौपाने र विपिन ताम्राकारसहित उपाध्यक्षका उम्मेदवारहरु विवेक बानिया, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् ।
विजयी भएपछि नवनिर्वाचित अध्यक्ष पराजुलीले जेसीआईको मर्मअनुसार युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जेसीआई हेटौंडालाई थप उचाइमा पुर्याउन सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका छन् ।
जेसीआई हेटौंडा युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था हो, जहाँ हरेक वर्ष लोकतान्त्रिक पद्धतिबाट नयाँ नेतृत्व चयन गर्ने परम्परा रहेको छ ।






