हेटौंडा | पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मकवानपुरमा आगामी माघ २५ गतेदेखि ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सुरु हुने भएको छ ।
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाभरका लक्षित किशोरीहरूलाई उक्त खोप लगाइने तयारी गरिएको हो ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत तथा १० वर्ष उमेर समूहका करिब ४ हजार ४ सय ३ किशोरीहरुलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
सोमबार हेटौँडामा आयोजित सञ्चारकर्मी र सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै निमित्त प्रमुख घिमिरेले खोप अभियानलाई प्रभावकारी बनाउन दुई चरणमा विभाजन गरिएको बताए ।
पहिलो चरण विद्यालय केन्द्रित हुँदै माघ २५ गतेदेखि फागुन १ गतेसम्म विद्यालयमै पुगेर खोप लगाइनेछ भने, दोस्रो चरण विद्यालय बाहिर रहेका वा अभियानमा सहभागी हुन नसकेका किशोरीलाई फागुन २२ गतेसम्म स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवा प्रदान गरिनेछ ।
जनस्वास्थ्य कार्यालयका खोप फोकल पर्सन बासुदेव रिमालका अनुसार खोपले भविष्यमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट बच्न महत्वपूर्ण भूमिका खेल्नेछ । उनले लक्षित उमेर समूहका सबै किशोरीलाई अनिवार्य रुपमा खोप लगाउन आग्रह समेत गरेका छन् ।
सामान्यतया हरेक वर्ष फागुनमा सञ्चालन गरिने उक्त खोप कार्यक्रम यस वर्ष प्रतिनिधिसभा निर्वाचनका कारण केही समय अगाडि नै सुरु गर्न लागिएको कार्यालयले जनाएको छ ।






