चिकित्सा शिक्षामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको फड्को
२८ जिल्लाका विद्यार्थी समेट्दै हेटौंडामा एमबीबीएस पठनपाठन सुरु

बागमती प्रदेश सरकारद्वारा स्थापित हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालू शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा (एमबीबीएस) को पठनपाठन सुरु भएको छ ।

गत फागुन २५ गते औपचारिक उद्घाटन गरिएको यस कार्यक्रममा हालसम्म ४७ जना विद्यार्थी भर्ना भएका छन् ।

प्रतिष्ठानका अनुसार कूल ५० सिटको कोटा रहेकोमा हालसम्म ४३ नेपाली र ४ भारतीय विद्यार्थी भर्ना भइसकेका छन् । भर्ना भएका नेपाली विद्यार्थीहरू अछामदेखि ताप्लेजुङसम्मका २८ विभिन्न जिल्लाका रहेका छन् । जसमा सबैभन्दा बढी काठमाडौंका ५ र ललितपुरका ४ जना छन् ।

भर्ना प्रक्रिया जारी रहेकाले विद्यार्थीको संख्या थपिन सक्ने सम्भावना रहेको प्रतिष्ठानले जनाएको छ । विद्यार्थीहरूले सुरुवाती दुई वर्ष आधारभूत विज्ञान अथार्त् बेसिक साइन्स र त्यसपछिको अवधि क्लिनिकल साइन्स अध्ययन गर्नेछन् ।

अध्यापनका लागि पर्याप्त जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रतिष्ठानले एमबीबीएसका लागि मात्र ७४ जना प्राध्यापक उपलब्ध तथा समग्र शैक्षिक कार्यक्रमका लागि ७ प्राध्यापक र वरिष्ठ कन्सल्टेन्ट विशेषज्ञसहित १ सय १ जनाको टोली कार्यरत रहेको बतायो ।

प्रतिष्ठानले एमबीबीएस बाहेक जनस्वास्थ्य (बीपीएच), ल्याब मेडिसिन (बीएमएलटी), नर्सिङ र फार्मेसी जस्ता विषयहरू पनि सञ्चालन गरिरहेको छ । यस्तै, यस वर्षदेखि स्नातकोत्तर (एमडी) तहमा ९ विषय थप गर्दै सिट संख्या ८ बाट बढाएर २७ पुर्‍याइएको छ ।

विसं २०७६ मा स्थापना भएको यस प्रतिष्ठानले दक्ष चिकित्सक उत्पादन, गुणस्तरीय स्वास्थ्य सेवा र अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण योगदान दिने लक्ष्य राखेको छ । आइतबारदेखि एमबीबीएस तहको नियमित कक्षा समेत सुरु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.