युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य गर्ने उद्येश्यले स्थापित जेसीआई चैनपुर मनहरीको २०२६ का लागि अध्यक्षमा सुरेश गौतम चयन भएका छन् ।
शनिबार भएको जेसीजको तेस्रो साधारणसभा तथा अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा गौतमसँगै श्रीराम खड्काले पनि उम्मेदवारी दिएकोमा सहमतिका लागि खड्काले उम्मेदवारी फिर्ता लिएपछि गौतम सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
जेसीजको कार्यकारिणी उपाध्यक्षमा नवराज रिजाल र राजु सुवेदी तथा उपाध्यक्षमा मनोज चौलागाईं, सुरज ढुंगाना, पुष्कर रेग्मी र सन्तोष ढकाल चयन भएको निर्वाचन आयुक्त रविन ढकालले जानकारी दिए ।
चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षता भएको साधारणसभामा संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, निवर्तमान अध्यक्ष रविन ढकाल लगायतको आतिथ्यता रहेको थियो ।
उम्मेदवारहरुलाई नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष स्वप्ना पौडेल भण्डारी र पर्सा खैरहनी जेसीजका संस्थापक अध्यक्ष केशव पाठकले तालिम प्रदान गरेका थिए । मकवानपुरको पश्चिमी क्षेत्रका युवाहरुलाई समेट्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य गर्ने उद्देश्यले सन् २०२२ मा गणेशदर्पण अधिकारीको नेतृत्वमा यस जेसीज स्थापना गरिएको थियो ।






