नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल आज आफ्नो ७३औँ स्थापना दिवस मनाइरहेको छ।
सन् २०१० साल कात्तिक १० गते श्रद्धेय नेता महामानव बी.पी. कोइरालाज्युद्वारा स्थापना गरिएको यो संगठन केवल एक राजनीतिक संरचना मात्र होइन, नेपाली इतिहासमा युवाशक्तिको जागरण, परिवर्तन र लोकतान्त्रिक आन्दोलकहरूको अनुशासित पंक्ति हो। तरुण दलले आफ्नो सुरुआती दिनदेखि नै प्रजातन्त्र, राष्ट्रियता र समाजवादको रक्षा तथा प्रगति–यात्राको मुटुमा युवालाई उभ्याउँदै आएको छ।
यस वर्षको स्थापना दिवस पनि सानेपा स्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयको प्राङ्गणमा विशेष कार्यक्रमसहित मनाइँदैछ। तर यो केवल औपचारिक दिन होइन-आत्मअनुशासन, मूल्यचिन्तन र भावी यात्रा तय गर्ने अवसर पनि हो ।
बी.पी. कोइरालाको दृष्टि र तरुण दलको मूल लक्ष्य
बी.पी. कोइरालाले नेपाली राजनीतिमा युवाको सहभागिता केवल आवश्यकताका कारण होइन, लोकतन्त्रको दीर्घ अस्तित्व र गतिशीलताको आधारका रूपमा देखेका थिए । र यही आवश्यकताबाट नेपाल तरुण दलको जन्म भयो । राष्ट्रियता, लोकतन्त्र र समाजवाद-यी तीन आधारभूत विचारलाई व्यवहारमा रूपान्तरण गर्ने जिम्मेवारी तरुण दललाई दिइएको थियो । सन्त नेता कृष्णप्रसाद भट्टराईले तरुण दललाई काँग्रेसको ‘भ्रातृ संस्था होइन, साथी संस्था’ भन्दै व्याख्या गर्दा, यसले राजनीतिक संस्कार र संगठनात्मक जिम्मेवारी दुवैलाई स्पष्ट संकेत गरिदिएको थियो।
संस्थापकदेखि नेतृत्वसम्म: यात्राको संक्षिप्त समीक्षा
नेपाल तरुण दलका संस्थापक अध्यक्ष स्व. सिंहध्वज खड्का थिए । उहाँले संगठन निर्माण र लोकतान्त्रिक चेतना विस्तारमा महत्वपूर्ण योगदान गर्नुभयो । पुनर्स्थापनाको चरणमा बालकृष्ण खाणको नेतृत्वमा तरुण दलले आफ्नो संगठनात्मक प्रभाव र राजनीतिक उपस्थितिलाई पुनर्सञ्चालन गर्यो। त्यसपछि महादेव गुरुङ/बिनोद कायस्थ, महेन्द्र यादव, उदय शमशेर राणा, जितजंग बस्नेतआदि नेताहरूको नेतृत्वमा तरुण दलले लोकतान्त्रिक आन्दोलन, राजनीतिक स्थायित्व, राष्ट्रियता र युवाको भूमिका सुदृढ पार्दै आगाडि बढ्यो । हाल विद्वान गुरुङको नेतृत्वमा तरुण दल पाँचौँ महाधिवेशनको तयारीसहित राष्ट्रिय उत्तरदायित्वका चुनौतीहरू सामना गरिरहेको छ।
आजको चुनौती : ‘जेन–जी’ र आधुनिक राजनीतिक चेतनाको दिशा
नेपालमा हालै देखिएको जेन–जी प्रदर्शन केवल भावनात्मक ऊर्जा होइन, राजनीतिक मूल्यबोधको नयाँ भाषिक अभिव्यक्ति पनि हो।यद्यपि, यस समूहभित्र वैचारिक अस्थिरता क्रेडिट लिने प्रतिस्पर्धा संगठनात्मक दिशाहीनताजस्ता चुनौतीहरू पनि छन् । यी चुनौतीलाई सकारात्मक ऊर्जा, राष्ट्रवादी चेतना, लोकतान्त्रिक संस्कार र सामाजिक सद्भावतिर मोड्ने जिम्मेवारी पनि अब तरुण दलकै काँधमा छ।
राष्ट्र निर्माणमा तरुण दलको आधुनिक प्राथमिकता
१. राष्ट्र निर्माण र युवा शक्तिसिर्जनात्मक, दक्ष र इमानदार युवालाई राष्ट्र–विकासको निर्णायक भूमिका दिने वातावरण निर्माण गर्नु तरुण दलको प्रमुख दायित्व हो ।
२. राष्ट्रियता र सार्वभौमिकताको रक्षाबाह्य चासो, हस्तक्षेप र स्वार्थप्रेरित दबाबहरूको सामना गर्न युवालाई सचेत, संगठित र वैचारिक रूपमा दृढ बनाउनुपर्नेछ ।
३. लोकतन्त्र र सामाजिक न्यायको मजबुतीकरणलोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता, मानवअधिकार र कर्तव्यशील शासन प्रणालीको पक्षमा युवालाई अग्रपंक्तिमा उभ्याउन जरुरी छ ।
४. संगठनभित्रको एकता र अनुशासनगुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर, जनताको अपेक्षाअनुसार जिम्मेवारी वहन गर्दा मात्र संगठन जनविश्वासको केन्द्र बन्न सक्छ ।
नेपाल तरुण दलको इतिहास संघर्ष, जागरण र परिवर्तनको इतिहास हो । आज ७३औँ स्थापना दिवसको अवसरमा तरुण दलले आफ्नो मूल मूल्य, दृष्टि र जिम्मेवारीलाई पुनर्संझन गर्न आवश्यक छ । नेपाली समाज आज आर्थिक असमानता, राजनीतिक अविश्वास र सामाजिक ध्रुवीकरण जस्ता चुनौतीहरूसँग जुधिरहेको छ । यस्ता चुनौतीबीच देशले फेरि ऊर्जा, चेतना र आशाको शक्तिको रूपमा युवालाई बोलाइरहेको छ।
अतः युवाशक्ति जागृत होस्, विचार सबल होस्, व्यवहार शुद्ध होस्, र राष्ट्रप्रति प्रतिवद्धता दृढ रहोस् । यही हो तरुण दलको स्थापना दिवसको वास्तविक मन्तव्य ।
हार्दिक शुभकामना ।
लेखक भेटवाल नेपाल तरुण दलका केन्द्रीय सदस्यसमेत हुन् ।






