जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ
सन्दर्भ: विश्व पानी दिवस २०२६

✍️ संजय कुमार न्यौपाने

मानव सभ्यताको विकास पानीसँगै सुरु भयो, र आज पनि हाम्रो अस्तित्वको मूल आधार पानी नै हो । तर विडम्बना के छ भने, यही जीवनदायी स्रोतको पहुँच आज विश्वभर समान छैन । २२ मार्चमा मनाइने विश्व पानी दिवस २०२६ ले यस वर्ष एउटा गहिरो सन्देश दिएको छ ।

‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ ।’ यो केवल नारा होइन, यो विश्वव्यापी यथार्थको प्रतिविम्ब हो ।

आजको विश्वमा पानी संकट एउटा साझा चुनौती हो, तर यसको प्रभाव सबैमा समान छैन । धनी र विकसित देशहरूमा पानी सहजै उपलब्ध हुँदा, विकासशील र अविकसित देशहरूमा अझै लाखौं मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् ।

विशेष गरी महिला जीवनमा यसको गहिरो असर देखिन्छ । ग्रामीण अफ्रिका, दक्षिण एशिया र अन्य क्षेत्रहरूमा महिलाहरूले दैनिक घण्टौं समय पानी बोक्न खर्च गर्छन् । यो केवल श्रम मात्र होइन—यो उनीहरूको शिक्षा, रोजगारी र आत्मनिर्भरता खोसिने प्रक्रिया हो ।

UN-WATER को तथ्यांक अनुसार, पानीको अभाव भएको क्षेत्रमा महिलाहरूले दिनको ठूलो हिस्सा पानी व्यवस्थापनमै खर्च गर्छन् । असुरक्षित पानीका कारण परिवारमा रोग फैलिँदा पनि उनीहरू नै हेरचाहकर्ताको भूमिकामा हुन्छन् । यसरी पानी संकट विस्तारै लैङ्गिक असमानताको संकट बन्दै गएको छ ।

पानीको पहुँच केवल सुविधा होइन, यो मानव अधिकार हो । तर जब कुनै समुदायमा सुरक्षित पानी र सरसफाइको अभाव हुन्छ, त्यहाँ सामाजिक विभेद, गरिबी र असमानता झन् गहिरो हुन्छ ।

महिलाहरूलाई प्राय पानी सम्बन्धी निर्णय प्रक्रियाबाट बाहिर राखिन्छ, नेतृत्व र नीति निर्माणमा अवसर दिइँदैन, स्रोत र बजेटमा पहुँच सिमित हुन्छ । यसकारण, पानी व्यवस्थापनमा परिवर्तनकारी, अधिकार–आधारित दृष्टिकोण आवश्यक छ, जसले महिलाको आवाज, नेतृत्व केन्द्रमा राख्छ ।

नेपालको सन्दर्भमा खानेपानी र सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भए पनि, अझै धेरै चुनौतीहरू बाँकी छन् । पहाडी र दुर्गम क्षेत्रहरूमा आज पनि महिलाहरू घण्टौं हिँडेर पानी ल्याउन बाध्य छन् । यसले उनीहरूको स्वास्थ्यमा असर पार्नुका साथै बालिकाहरूको विद्यालय उपस्थिति घटाउँछ । महिनावारी स्वच्छता व्यवस्थापन अझै धेरै ठाउँमा चुनौतीपूर्ण छ । धेरै विद्यालयमा पर्याप्त शौचालय र पानी सुविधा नहुँदा किशोरीहरू पढाइ छोड्न बाध्य हुन्छन् ।

नेपालमा UNICEF/UN WOMEN जस्ता संस्थाहरूले WASH कार्यक्रममार्फत सुधारका प्रयास गरिरहेका छन् । तर वास्तविक परिवर्तनका लागि महिलाहरुलाई निर्णयकर्ता बनाउने, स्थानीय तहमा महिला नेतृत्वलाई सशक्त बनाउने र योजना निर्माणदेखि कार्यान्वयनसम्म लैङ्गिक दृष्टिकोण समावेश गर्नुपर्ने देखिन्छ ।

जलवायु परिवर्तन र बढ्दो जोखिमले आज पानी संकट केवल पहुँचको समस्या मात्र होइन, यो जलवायु परिवर्तनसँग गहिरो रूपमा जोडिएको छ । अनियमित वर्षा, बाढी, सुख्खा र स्रोतको क्षयले पानीको उपलब्धता झन् अनिश्चित बनाएको छ । यस्तो अवस्थामा सबैभन्दा बढी असर महिलाहरू र कमजोर समुदायमा पर्छ । यसको समाधानका लागि दिगो, समावेशी र लचिला हुन आवश्यक छ ।

पानी र समानताको यो अभियान सफल बनाउन सबैको भूमिका अनिवार्य छ । व्यक्ति स्तरमा पानीको संरक्षण र समानताको समर्थन, विद्यालय र संस्थाहरूमा स्वच्छता शिक्षा र लैङ्गिक संवेदनशील पूर्वाधार, सरकार र स्थानीय तहमा नीति निर्माणमा समावेशिता र महिला नेतृत्व आवश्यक देखिन्छ ।

समानताको आधार-पानी, पानी केवल स्रोत होइन, यो अवसर हो । जब पानीमा समान पहुँच हुन्छ, तब मात्र स्वास्थ्यमा सुधार, शिक्षा विस्तार आर्थिक सशक्तिकरण सम्भव हुन्छ र समाज समावेशी बन्छ ।
त्यसैले ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’ भन्ने सन्देशलाई व्यवहारमा उतार्नु आजको आवश्यकता हो ।

(लेखक न्यौपाने हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी हुन् )

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.