बागमतीको पर्यटन प्रबर्द्धनमा मन्त्री ठकुरीको प्रभावशाली खर्च, बानियाँको नजर पर्छ त ?

बागमती  प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय तथा मातहतका कार्यालयहरूले आर्थिक वर्ष २०८१/०८२ मा उल्लेखनीय बजेट खर्च गर्दै कार्य सम्पादनमा राम्रो प्रगति गरेको छ ।

संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीको नेतृत्वमा मन्त्रालयले कुल २ अर्ब ४७ करोड रुपैयाँमध्ये ८० दशमलव ९४ प्रतिशत अर्थात् करिब २ अर्ब ४४ लाख रुपैयाँ खर्च गरी प्रभावकारी कार्यसम्पादनको संकेत दिएको छ। खासगरी मन्त्रालयको मातहत रहेको पर्यटन विकास आयोजना, हेटौंडाले ८६ करोड ७१ लाखमध्ये ९१ दशमलव ३८ प्रतिशत अर्थात् ७९ करोड २४ लाख रुपैयाँ खर्च गर्न सफल भएको छ ।

त्यस्तै पर्यटन विकास आयोजना इकाई कार्यालयले १ अर्ब ३५ करोड रुपैयाँमा ७८ दशमलव ०४ प्रतिशत अर्थात् १ अर्ब ५ करोड खर्चको उच्चतम कार्यसम्पादन देखाएको छ। मन्त्री ठकुरीको पहलमा पर्यटन पूर्वाधार निर्माण, प्रचारप्रसार तथा गन्तव्य व्यवस्थापन जस्ता कार्यक्रमहरूमा तीव्रता दिइएको देखिन्छ । पर्यटन कार्यालय काठमाडौं र सौराहाले समेत क्रमश: ५७ दशमलव ९२ प्रतिशत र ५९ दशमलव २२ प्रतिशत रकम खर्च गर्दै संस्थागत तहमा बजेट उपयोगको गतिशीलता देखाएका छन् ।

यस वर्षको खर्च विवरणले पर्यटन विकासमा मन्त्री बिमल ठकुरीको योजनाबद्ध पहल, कार्ययोजना तथा समन्वय क्षमतालाई पुष्टि गरेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री ठकुरीले आगामी वर्ष पर्यटन क्षेत्रलाई अझ प्रभावकारी बनाउँदै बजेट उपयोग ८० प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य लिएका थिए । तर, ईन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता र प्रदेशको मुख्यमन्त्री बनाउनकै लागी बहादुरसिंह लामा विरुद्ध संसदीय दलमा अविश्वासको प्रस्तावमा हस्ताक्षरदेखि मन्त्री पदबाट राजिनामा दिएका ठकुरीको कार्यक्षमताको नवनियुक्त मुख्यमन्त्री बानियाँले समीक्षा गर्नेछन् भन्ने अपेक्षा गरिएको छ ।

कांग्रेस संसदीय दलका नेता बानियाँले सोमबार सत्तासाम्झेदार दल नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै दिउँसो अपराह्न ४ बजेतिर पद तथा गोपनीयताको शपथ समेत गराइसकेका छन् ।

कांग्रेसबाट मुख्यमन्त्री बानियाँँसँँगै कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी विनाविभागीय मन्त्री बनेका छन् । कांग्रेसको भागमा परेको ७ मन्त्रालयमध्ये दुईमा मात्र मन्त्री नियुक्त गरिएको छ भने बाँकी पाँच मन्त्रालयमा नियुक्ति भइसकेको छैन् ।

प्रदेशमा पर्यटन क्षेत्रको तीव्र विकास र बजेटको प्रभावकारी प्रयोगलाई दृष्टिगत गर्दै नवनियुक्त मुख्यमन्त्री बानियाँले आफ्नो क्याबिनेटमा ठकुरीलाई समावेश गरी आगामी दिनमा पर्यटन क्षेत्रको थप प्रगतिको लागि अवसर दिने कि नदिने विषयमा राजनीतिकरूपमा चासो रहने देखिन्छ।

ठकुरीले गरेका उपलब्धिहरू र बजेट खर्चको पारदर्शितालाई आधार बनाएर नयाँ नेतृत्वले आफ्नो नीति र योजना अनुसार निर्णय गर्ने विश्वास स्थानीय राजनीतिक विश्लेषकहरूले गरेका छन्।

अब हेर्नुपर्ने कुरा भनेको मुख्यमन्त्री बानियाँले पर्यटन क्षेत्रमा देखिएको सकारात्मक कार्यलाई निरन्तरता दिने कि नयाँ ढंगले अगाडि बढाउने भन्ने हो । प्रदेशको पर्यटन विकासमा हुने यो राजनीतिक निर्णयले आगामी दिनमा पर्यटन क्षेत्रको गति र प्रदेशको समग्र विकासमा महत्त्वपूर्ण प्रभाव पार्नेछ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.