राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।
एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १ सय ७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३ सय ५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १ सय २४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४ सय ७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १ सय २६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
बोर्डका अनुसार १ सय २६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७ सय १५ गरी जम्मा ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थी सहभागी भएका थिए । (अनलाइनखबरबाट)







