चितवनको अस्पतालहरुमा स्वास्थ्यमन्त्री श्रेष्ठको अनुगमन, सेवामा कुनैपनि सम्झौता नगर्न निर्देशन

बागमती प्रदेशका सरकारका स्वास्थ्य मन्त्री माननीय रामेश्वर श्रेष्ठले चितवनको विभिन्न अस्पतालको अनुगमन गरेका छन् ।

बुधबार स्वास्थ्य मन्त्री श्रेष्ठले मन्त्रालय मातहत रहेका आयुर्वेद औषधी उत्पादन केन्द्र, बकुलहर रत्‍ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा आयुर्वेद औषधि उत्पादनकेन्द्रले (जि. एम. पी.लेआउट ) अनुसारको भवनको निर्माण र मेसिन जडान अन्तिम प्रकिृयामा रहेकोले छिटो काम सम्पन्न गरी औषधी उत्पादन गर्न साथै औषधी निर्माण गर्दा गुणस्तरीयतासँग सम्झौता नगर्न श्रेष्ठले निर्देशन दिए । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रदान गरिरहेको सेवाको अनुगमन तथा निरिक्षण गर्नुभयो । चिकित्सालयमा जीवनशौली व्यवस्थापन र प्रवधानात्मक, प्रतिकारात्मक सेवा दिनको लागि जोड दिएका छन् ।

साथै, बकुलहर रत्‍ननगर अस्पतालले प्रदान गरिरहेको सेवाको अनुगमन तथा निरिक्षण गरेका थिए । सःशुल्क फार्मेसीमा उपलब्ध हुने औषधिकोलागि एउटा थप काउण्टर स्थापना गर्न मन्त्री श्रेष्ठले सुझाव दिए ।
त्यस्तै अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवाको शुल्कलाई कसरी कम र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मी र सेवाग्राहसँग छलफल गरेका थिए । डायलसिस सेवालाई थप विस्तार गरी २४ घण्टा सञ्चालन गराउने व्यवस्था गर्न, अस्पताललाई मृगौला डाईलाईसिस ट्रेनिङ सेन्टर बनाउने आगामी दिनमा बजेट व्यवस्था गर्ने सुझाव दिए । अस्पतालले ओ पि डी  सेवालाई  विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरेकोप्रति धन्यवाद समेत व्यक्त गरे ।

साथै अस्पताललाई भविष्यमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरेर मेडिकल शिक्षा पढाउने  शौक्षिक संस्थाको रुपमा विकास गर्ने मन्त्री श्रेष्ठले बताए  । आगामी दिनमा अस्पतालमा मनोचिकित्सक वार्ड स्थापना गर्ने साथै आत्महत्या न्युनिकरणका लागी अस्पतालबाट विशेष जनचेतना कार्यक्रम गर्ने  स्वास्थ्य मन्त्री श्रेष्ठले जानकारी दिए ।