चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले नेपाल पत्रकार महासंघको एसोसिएट्स संस्थाहरु मध्ये सकृयताको आधारमा आफूहरुको संस्था अब्बल रहेको दावी गरेका छन् ।
बिहीवार हेटौंडामा आयोजित चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष बलामीले पत्रकार महासंघ पश्चात् सम्भवतः चलचित्र पत्रकार संघ नै बिट पत्रकारिता गर्ने पत्रकारहरुको लागि विभिन्न प्रशिक्षण कार्यक्रमहरु गर्ने संस्था रहेको बताए ।
उनले पछिल्लो समय चलचित्र क्षेत्रको गतिविधिको हिसाबले पनि मकवानपुर पछि परेको औल्याउँदै बलामीले चलचित्र क्षेत्र मार्फत आफ्नो जिल्लामा रहेको धार्मिक स्थल र प्राचीन सम्पदाहरुको प्रदर्शन गराईं देश, विदेशबाट पर्यटन भित्र्याउने लक्ष्य लिइ आगामी नीति तथा कार्यक्रमहरुमा बजेट छुट्ट्याउन स्थानिय सरकारहरुलाई आग्रह समेत गरेका छन् ।
‘चलचित्र क्षेत्र भनेको मनोरञ्जनको लागि मात्र नभइ एउटा सफ्ट पावर पनि हो । चलचित्रले समाजको चित्रणसँगै यसका कथाहरुले विभिन्न विषयवस्तुसँग केन्द्रित रहि सर्वसाधारणलाई सचेतना समेत फैलाउने गर्दछ ।’, कार्यक्रममा बोल्दै अध्यक्ष बलामीले भने, ‘त्यसैले म यहाँको स्थानिय सरकारसँग हजुरहरुको क्षेत्रमा चलचित्र क्षेत्रको गतिविधि बढाउन जनप्रतिनिधिहरुले अहम भूमिका खेलिदिनुहुन् अनुरोध गर्दछु । यसले हजुरहरुको क्षेत्रमा चलचित्र गतिविधि बढ्नुसँगै मकवानपुरलाई फिल्मी क्षेत्रको हब मध्ये एक बनाउन मद्दत पुग्नेछ ।’
त्यसैगरी उनले आफ्नो कार्यकालमा रंग पत्रकारिता गरिरहेका पत्रकारहरुको लागि आवश्यक प्रशिक्षणसँगै विदेशको अन्य शहरहरुमा पनि चलचित्र पत्रकार संघको शाखा विस्तार, अन्तराष्ट्रिय पत्रकार संस्थाहरुसँगको सहकार्यमा विभिन्न प्रभावकारी कार्यक्रमहरु गर्ने योजना रहेको बताए ।
अध्यक्ष बलामी २०७९ फागुन १८ गते संस्थाको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचितमा भएका थिए । बलामीले हालसम्म संघको संस्थागत विकासको लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् । जसमध्ये गत फागुन ६ गते, बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित संघको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला, संघको २५ औं वार्षिकोत्सब तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित रंग पत्रकारहरुलाई पुरस्कार, सम्मान कार्यक्रम रहेका छन् ।