मकवानपुरको पश्मचिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाले उद्योग दिवस र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको संयुक्त अवसरमा मंगलबार सचेतना र्याली आयोजना गरी महिला उद्यमी समूहलाई सम्मान गरेको छ।
मनहरी–१ स्थित रजैयाबाट निकालिएको र्यालीबाट कार्यक्रमको सुरुवात भएको थियो । उक्त र्याली गाउँपालिकाको सभाहल लामिटारमा पुगेर औपचारिक कार्यक्रममा परिणत भयो ।
कार्यक्रमको क्रममा मनहरी गाउँपालिकाभित्रका महिला उद्यमी समूहहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई पुरस्कृत गरिएको थियो । प्रथम स्थानमा मनहरी–७ को क्रियाशील महिला लघु उद्यमी समूहलाई नगद १५ हजार र प्रमाणपत्र प्रदान गरियो । दोस्रो स्थानमा मनहरी–६ को पारिजात महिला उद्यमी समूहलाई १२ हजार रुपैयाँ प्रदान गरिएको थियो । तेस्रो स्थानमा मनहरी–५ को हरियाली महिला लघु उद्यमी समूहले ९ हजार प्राप्त गर्यो भने चौथो स्थानमा मनहरी–१ को चकरी महिला लघु उद्यमी समूहले ६ हजार रुपैयाँ प्रोत्साहन प्राप्त गरेको थियो ।
सान्त्वना पुरस्कारका रूपमा मनहरी–३ को प्रगतिशील लघु उद्यमी समूह र मनहरी–४ को अर्को प्रगतिशील समूहलाई नगद ४÷४ हजार प्रोत्साहन र सम्मानपत्र प्रदान गरिएको थियो ।
गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती प्रमुख अतिथि रहेको थियो ।
कार्यक्रममा प्रशासन प्रमुख अन्जना सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबा, बालअधिकार समितिका सदस्य देवकी ढुङ्गाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।







