‘नैतिकताको कार्ड’ फाल्दै गृहमन्त्री गुरुङको राजीनामा
मिडियालाई पनि दिए 'स्वीट शेयर'को चुनौती

शेयर कारोबारलाई लिएर उठेका विवाद र जनचासोका बीच गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले ‘नैतिकता र जनविश्वास’लाई मुख्य आधार मानेर राजीनामा दिएको घोषणा गरेका हुन् ।

चैत १३ गते गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङले पछिल्लो समय आफ्नो शेयर लगानीलाई लिएर नागरिकस्तरबाट उठेका प्रश्न र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

गुरुङले पदभन्दा ठूलो कुरा नैतिकता भएको उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिएको स्पष्ट पारेका छन् । ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले मैले राजीनामा दिएको हुँ,’ उनले आफ्नो स्ट्याटसमा लेखेका छन् ।

उनले देशमा सुशासन र जवाफदेहिताको माग गर्दै भइरहेको जेनजी आन्दोलनको मर्मलाई सम्मान गर्दै सार्वजनिक जीवन स्वच्छ हुनुपर्नेमा जोड दिएका छन् । ४६ जना शहीदको बलिदानीको आडमा बनेको सरकारमाथि प्रश्न उठ्दा त्यसको जवाफ नैतिकतामार्फत दिनुपर्ने उनको तर्क छ ।

आफ्नो राजीनामा घोषणा गर्ने क्रममा गुरुङले सञ्चारकर्मीहरूमाथि पनि प्रश्न उठाएका छन् । ‘कति मिडियाकर्मी साथीहरूको कहाँ–कहाँ ‘स्वीट शेयर’ छ, बिस्तारै आउला । रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।,’ आफूले नैतिक साहस देखाएको दाबी गर्दै उनले भने, ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब सत्य र इमानदारीको बाटोमा सबै उभिनुपर्छ ।’

जिम्मेवारी सम्हालेको एक महिना पनि नपुग्दै यसरी प्रभावशाली मन्त्रीको आकस्मिक राजीनामाले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ । विशेषगरी शेयर बजारसँग जोडिएका विवादमा मन्त्रीले राजीनामा दिएपछि अब अन्य सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति र लगानीका विषयमा पनि छानबिनको माग उठ्न सक्ने देखिएको छ ।

राजीनामाको विषयमा सरकार वा प्रधानमन्त्री कार्यालयबाट औपचारिक प्रतिक्रिया आउन भने बाँकी छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.