हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिाकरी (प्रजिअ)लाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन नेपाल प्रेस युनियन मकवानपुरले आग्रह गरेको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका समाचार संकलन गर्न रोकेको विषयमा युनियन मकवानपुरले विज्ञप्ती जारी गर्दै उक्त घटनाको घोर भत्सना गरेको छ ।
प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार हेटौंडाका जनप्रतिनिधि माथि भएको घटना, नेपाली कांग्रेसको ध्यानाकर्षण, रास्वपाको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल (नेपाल टेलिभिजन), सदस्यद्वय गणेश दुलाल (रातोपाटी डटकम), मनिल महत्तो (टिम टिभी) लगायतका दर्जन पत्रकारलाई कार्यालयमा छिर्न, दृश्य खिच्न नदिएको घटना प्रति प्रेस युनियन मकवानपुरको ध्यानाकर्षण भएको अध्यक्ष सुवास विडारीले जानकारी दिए । उनका अनुसार समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई रोक्ने, दृश्य छायंकन गर्न नदिने÷बाधा पु¥याउने जस्ता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी क्रियाकलाप हो ।
‘सार्वजनिक पद धारण गरेर नागरिकका सरोकारका विषयमा पत्रकार/संचारकर्मीहरुलाई विभिन्न बहाना गर्दै कर्तव्य पालनामा रोक्नु नेपालको संविधान र सञ्चार ऐन विरुद्धको गतिविधि रहेको प्रेस युनियन मकवानपुरको ठम्याइ छ ।’, विज्ञप्तीमा उल्लेख छ, ‘नेपालको संविधान २०७२ को धारा १७ (२) (क), १९, २७ र ३५ (४) ले सञ्चारकर्मीलाई अभिव्यक्ति स्वतन्त्रता, सूचना प्राप्तिको अधिकार र निष्पक्ष प्रेसको प्रत्याभूति गरेको छ । साथै सञ्चारकर्मी सुरक्षा नीति, २०७३ र फौजदारी संहिता, २०७४ का प्रावधानले पेशागत काममा अवरोध पुर्याउने जस्ता क्रियाकलापलाई स्पष्ट रूपमा दण्डनीय मानेका छन् ।’
प्रमुख जिल्ला अधिकारीलाई पत्रकारहरुको पेशागत मर्यादा, सरक्षा प्रत्याभुत हुने गरी कार्य सम्पादन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन अध्यक्ष विडारीले आग्रह गरेका छन् ।






