मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा कुल विनियोजित बजेटको आधा हिस्सा सामाजिक विकास क्षेत्रमा खर्च गर्ने भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि सामाजिक विकास क्षेत्रको कार्यक्रमहरु कार्यान्वयन गर्न ४२ करोड विनियोजन गरेको गाउँसभामा बजेट बक्तव्य प्रस्तुत गर्दै उपाध्यक्ष फणिन्द्र तिमल्सिनाले जानकारी दिए ।
सामाजिक विकास क्षेत्रमा छुट्याइएको यो बजेट कुल विनियोजित ८३ करोड ७२ लाख ६७ हजार ६ सय ७४ को आधा हिस्सा हो ।
यसैगरी पालिकाले पूर्वाधार विकासतर्फ लागि १७ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १२ करोड २६ लाख, वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड १६ लाख, आर्थिक विकासतर्फ ५ करोड ४३ लाख र सुशासन तथा संस्थागत विकासतर्फ ४ करोड ५४ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षका लागि प्रस्तावित रकम गत आर्थिक वर्ष २०८१/८२ को भन्दा १२ करोडले बढी हो । गाउँपालिकाले गत आर्थिक वर्ष ७१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
त्यसैगरी वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बागमती–८ स्थित जनता माध्यामिक विद्यालायलाई बहुमुखी क्याम्पसको रुपमा सञ्चालन गर्ने, वडा–वडाबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्ने र एकल पुरुषलाई भत्ता दिने नीति ल्याएको जानकारी गराए । उनले गाउँपालिकाका स्थायीबासी जनप्रतिनिधि र सरकारी कर्मचारीहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने नीति ल्याउन लागिएको बताए । उक्त नीतिलाई नमानेमा उनीहरुको तलब र सेवासुविधाबाट १० प्रतिशत शैक्षिक कर तिर्नुपर्ने उनको भनाई छ ।






