मकवानपुरको कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षको तुलनामा ५ करोड बढाएर आगामी वर्षको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ५३ करोड ८६ लाख २० हजार १ सय रुपैयाँको बजेट ल्याएको हो ।
मकवानपुरको विकट कैलाशले चालु आर्थिक वर्षका लागि ४८ करोड ७८ लाख रुपैयाँ बजेट ल्याएको थियो ।
मंगलबार उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले गाउँसभामा आगामी आर्थिक वर्षको लागि चालुतर्फ ३२ करोड ८२ लाख ३ हजार १ सय रुपैयाँ अर्थात् कुल बजेटको ६० दशमलब ९ प्रतिशत र पूँजीगततर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३९ दशमलब १ प्रतिशत बजेट छुट्याइएको जानकारी गराए ।
आगामी आर्थिक वर्षका लागि पूँजीगत बजेट ६ करोड भन्दा बढी बढेको छ भने चालुखर्चतर्फ पनि १ करोड बढी बजेट बढाएर ल्याएको हो । जसमा आर्थिक विकास तर्फ २ करोड ७७ लाख ६४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ चालु र पूँजीगत दुबैगरी २३ करोड ४९ लाख ६४ हजार, पूर्वाधार विकास तर्फ पूँजीगत खर्च १६ करोड ४४ लाख बजेट विनियोजन भएको छ । यस्तै, वातावरण तथा विपद्ततर्फ ४३ लाख पूँजीगत बजेट, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ चालु र पूँजीगत दुवैगरि ९२ लाख ९२ हजार १ सय रुपैयाँ र गाउँपालिकाको प्रशासनिक खर्चतर्फ ९ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताइएको छ।
गाउँपालिकाकाले आफ्नो पालिकामा बसोबास गर्ने सीमान्तकृत, अपाङ्गता भएका तथा सहिद परिवारका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउनका लागि बजेट विनियोजन गरेको छ। प्रयेक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको अनिवार्य र निशूल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशूल्क पाउने संवैधानिक हकको सूनिश्चिता गर्दै विद्यालयबाट वञ्चित बालबालिको शिक्षाको लागि बजेट विनियोजन गरिएको कैलाश गाउँपालिकाकाले जनाएको छ। यस्तै, गाउँपालिकाभित्रका सहकारी संस्थालाई नेपाल सरकारको प्रणालीमा आवद्ध गरी संगठात्मक विकास गर्न सहकारी क्षेत्रमा बजेट विनियोजन गरेको छ भने विपद् व्यवस्थापनको क्षेत्रमा कुल बजेटको ४३ लाख रुपैयाँ छ्ट्याएको बताइएको छ।
बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियानको रुपमा विगतका आर्थिक वर्षदेखि सुरुवात गरेको चेली प्रोत्साहन कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिनका लागि बजेट विनियोजन गरेको छ भने चेपाङ समुदायको सांस्कृतिक, सामाजिक र ऐतिहासिक विषेशतालाई सम्मान गर्दै चेपाङ संरक्षित क्षेत्रको रुपमा विकास गरिने यस गाउँपालिकाले नीति लिएको छ।






