भूमी सम्बन्धि समस्या समाधानका लागि हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडाले आवश्यक काम सुरु गरेको छ ।
भूमि समस्या समाधानको लागि वडामा राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि सहितको वडा स्तरीय सहजिकरण समिति गठन भएको छ ।
बिहीबार वडा स्तरीय सहजिकरण समिति र भूमी समस्या समाधान आयोगका प्रतिनिधिहरुको उपस्थितिमा ६ नम्बर वडाले अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको छ ।

कार्यक्रममा भूमी सम्बन्धी परेका समस्याको समाधानका लागि भूमि आयोग सदैव तयार रहेको भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईले जानकारी दिए । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यववस्थित बसोबासलाई व्यवस्थित बनाउने काममा भूमि आयोगले काम गरिरहेको भूमि समस्या समाधान आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए ।
हेटौैंडा-६ का वडा अध्यक्ष एवम् भूमि समस्या समाधान सहजिकरण समितिका संयोजक विष्णुबहादुर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सरिता सापकोटा, मुना विश्वकर्मा, विजय पौडेल, लेखराज ढकाल, भूमी समस्या समाधान आयोगका सदस्य दिलमाया घर्ती, वडा स्तरीय सहजिकरण समितिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।






