हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुप्रति सेवाग्राहीहरूमा गुनासो बढ्दो छ ।
सेवाग्राहीहरूले कार्यालयको आधिकारिक वेबसाइटमा प्रकाशित सम्पर्क नम्बरमा फोन गर्दा प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ र सूचना अधिकारी सन्तोष पाण्डेले फोन नउठाउने गरेको आरोप लगाएका छन् ।
स्थानीयहरूका अनुसार सेवाप्रवाहका लागि सम्पर्क गर्दा पटकपटक फोन गर्दा पनि नउठाइने, साथै कार्यालय समयको ठूलो हिस्सा कर्मचारीहरू कार्यकक्षमा भन्दा चिया अड्डा वा बाहिरी स्थानहरूमा बिताउने गरेको जनगुनासो व्यापक छ।
‘हामी आवश्यक कामले पालिका धाइराको हुन्छौं, केहि नबुझेको कुरो सोध्न हाकिम साबलाई कल गर्छौं नम्बर सेभ नभएर होकि फोन उठ्दैन, अफिसमा गयो भने पनि प्रायः आफ्नो कोठामा भन्दा बाहिर नास्ता होटल तिर भेटिन्छ । यस्तो लापरवाहीले हाम्रो समय मात्र खेर गइरहेको छ’, एक स्थानिय सेवाग्राही भन्छन् ।
यस विषयमा प्रतिक्रिया लिन बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेसँग सम्पर्क गर्दा उनले आफूलाई हालसम्म औपचारिक रूपमा यस्तो गुनासो नआएको बताए। तथापि, उनले नागरिकको गुनासोलाई गम्भीर रूपमा लिएर सेवा प्रवाहमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे।
गाउँपालिकाको कार्यालय बकैया-३, हात्तीसुँडेमा रहेकोे छ ।
स्थानीय शासनमा नागरिक सेवाको प्रभावकारिता र पारदर्शिता अत्यन्त महत्वपूर्ण मानिन्छ। यस्तो अवस्थामा सेवाग्राहीको आवाजलाई सम्बोधन गर्दै पालिकाले समयभित्र नै सुधारात्मक कदम चाल्छ कि भन्ने प्रतीक्षा स्थानीयबासीले गरिरहेका छन् ।







