कैलाश गाउँपालिकामा ९९ घरलाई सुधारिएको चुलो बाढिएको छ ।
कैलाश गाउँपालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट एशोसिएसनले वडा नम्बर ३, ४ र ७ नम्बर वडामा घरधुरी सर्वेक्षण गरेर छनौटमा परेका ९९ घरहरुलाई चुलो प्रदान गरेको हो ।
उक्त घरहरुलाई कैलाशका अध्यक्ष लोकबहादुर मुक्तानले सोमबार धुँवा रहित चुलो हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सुधारिएको चुलो वातावरण र स्वास्थ्यमैत्री रहने बताए । घरमा भएका साना बालबालिका र जेष्ठनागरिक आमाबाहरुको स्वास्थ्यलाई धुँवाले प्रतिकुल असर पारिरहेको अवस्थामा यी चुलोहरुले स्वास्थ्यमा सहयोग पुग्ने बताए । घरमा लगेर नराख्नुस्, लगेपछि प्रयोग पनि गर्नुस्, अध्यक्ष मुक्तानले भने । अहिले ग्याँस प्रयोगकर्ता पनि छन् तर यी क्षेत्रका धेरै स्थानमा दाउरा नै प्रयोग गर्ने गर्दछन् । अब यस चुलाले धेरै राहत पुग्ने उनले बताए ।
स्वास्थ्य र शिक्षामा सांग्रिलाले धेरै नै लगानी गर्दै आइरहेको गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले बताए । आफ्नो मर्म र भावनालाई आत्मसात् गर्दै जून किसिमको काम गरिरहनु भएको छ, त्यसमा गाउँपालिकाले साथ सहयोग प्रदान गर्ने बताए । उनले चुलो प्रयोग गरेर सक्दो फाइदा लिन स्थानीयलाई आग्रह समेत गरे ।

सांग्रिला डेभलपमेन्ट एशोसिएसनका कार्यक्रम संयोजक मधुसदन राउतको अध्यक्षतामा भएको कार्यक्रममा कैलाश गाउँपालिकाका ३ नम्बर वडाध्यक्ष देवलाल बल, ४ नम्बर वडा सदस्य नमराज चेपाङ, कटुञ्जे स्वास्थ्य चौकीका प्रमुख आशाकुमारी गुरुङलगायतको आतिथ्यता रहेको थियो ।
स्वास्थ्य परियोजना अन्तर्गत सुधारिएको धुँवा रहित चुलो वितरण गरिएको कार्यक्रम संयोजक राउतले बताए । उक्त चुलोको उपयोगले दाउराको कम प्रयोग हुनुका साथै विभिन्न रोगबाट बच्न सकिने बताए ।
एसोसिएसनले गाउँपालिकासँगको समन्वयमा विभिन्न स्वास्थ्य र शिक्षाका क्षेत्रमा कामहरु गर्दै आइरहेको छ ।






