हेटौंडा । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान काठमाडौंले हेटौंडामा संचालित वारिष्टा (कफी बनाउने) तालिमको अनुगमन गरेको छ ।
बिहीबार प्रतिष्ठानले तालिम संचालित कार्यस्थल हेटौंडा-४ स्थित हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रमा पुगेर अनुगमन गर्नुका साथै प्रशिक्षक र प्रशिक्षार्थीहरुसँग चिनापर्चीसमेत गरेका हुन् ।

अनुगमनको क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश कुमार बखतीले प्रशिक्षार्थीहरुलाई यस तालिम पश्चात् सीपलाई प्रमाणपत्रमा मात्र सिमित नराख्न आग्रह गरे । उनले सीप सिकेर प्रशिक्षार्थीहरुले समूहमा मिलेर क्याफे सञ्चालन गर्न सकिने बताए । यसले प्रशिक्षार्थीहरु स्वरोजगार बन्ने र दक्ष जनशक्ति स्वदेशमै रहने उनको भनाइ छ ।
मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा ११ जेठबाट भइरहेको २० जनालाई १ सय ६० घण्टे नि:शुल्क तालिम राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको सहकार्य तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभीटी)बागमती प्रदेश कार्यालय हेटौंडाले आयोजना गरेको हो ।
अनुगमनमा सिटीइभीटी बागमती प्रदेश कार्यालयका निर्देशक श्रीधर नेपाल, उपनिर्देशक दिनेश थापा, अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी, जैसीदेवल युथ क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक राजेश प्रजापति र जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा) मकवानपुरकी सचिव मेनका श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।






