मकवानपुर / कैलाश गाउँपालिकामा कक्षा ४ र ५ को स्थानीय पाठ्यपुस्तक हाम्रो कैलाशको विषयमा सरोकारवाला पक्षहरुसँग छलफल तथा सुझाव संकलनसँगै गाउँ शिक्षा योजना मस्यौदाको विषयमा कार्यशाला गोष्ठी भएको छ ।
सोमबार गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व सहसचिव कृष्णप्रसाद घिमिरेले विद्यालयका प्रधानाध्यापकहरु पनि एउटा पाठ्यक्रम रहेको जिकिर गरे । स्थानिय तहको शैक्षिक सुधारको लागि शिक्षकहरुले नेतृत्वदायी भूमिका निभाउनुपर्ने उनको भनाइ छ ।
पाठ्यपुस्तकका लेखक एवम् पाठ्यक्रम विकास केन्द्रका निर्देशक दीनानाथ गौतमले कार्यक्रममा कक्षा ४ र ५ को पुस्तकमा समेटिएका विषयवस्तुबारे प्रस्तुत गरेका थिए ।
कक्षा ४ को पुस्तकमा कैलाश गाउँपालिकाको पृष्ठभूमि, गाउँपालिकाभित्रका कला संस्कृति, चाडपर्व, जातजातीय संस्कार, प्राकृतिक वन र वातावरण, वन्यजन्तु,जीवजनावर, वनस्पति, जडिबुटी, कृषि, मसलाबाली अन्नबाली, नगदेबाली, पशुपालन, धार्मिक तथा पर्यटकीय स्थलको परिचय, कैलाशमा उत्पादनमूलक घरेलु उद्योगका विषयवस्तु समेटिएको लेखक गौतमले बताए । त्यस्तै कक्षा ५ मा पनि सोही विषयवस्तु समेट्दै स्थानीयस्तरमा पाइने वन्यजन्तुहरुको नाम र संरक्षण, अन्नबाली अन्तरगत मकै, गहुँ, कोदो खेती लगाउने तरिका, गाई, बाख्रा पालनको तरिकाका साथै कृषि क्षेत्र र सहकारीको विषयवस्तु पनि समेटिएको उनले बताए ।
गाउँ शिक्षा योजना मस्यौदाको विषयमा विज्ञ तोयाप्रसाद अम्मैले गाउँ शिक्षा निर्माणको आवश्यकता, औचित्य र प्रक्रियाबारे आफ्नो प्रस्तुतीकरण गरेका थिए । शिक्षा क्षेत्रको मुख्य समस्या तथा चुनौतिहरुको विश्लेषण गर्दै पालिकाको सबै अवस्थाका बालबालिकाहरुको पोषण स्याहार मनोरञ्जन सहितको प्रारम्भिक बाल शिक्षा, निशुल्क तथा अनिवार्य आधारभूत शिक्षामा समतामूलक पहुँच पुग्ने उद्देश्य रहनुपर्ने जनाए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्लले स्थानीय पाठ्यक्रमले सम्रग कैलाशलाई पढ्न सकिने बताए । कक्षा ६, ७ र ८ का पुस्तक यही शैक्षिक सत्रदेखी विद्यालय पुगिसकेका छन् अब ४ र ५ को तयार हुने उनले बताए । कैलाशको शैक्षिकस्तर वृद्धि गर्नुछ, सोही अनुरुप पालिकाले शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको उपाध्यक्ष मल्लले बताए ।
कार्यदलले तयार पारेको शिक्षा योजनामा सुझाव दिन उनले सबैलाई आग्रह गरेका छन् । सबैको सुझाव पश्चात मात्रै गाउँशिक्षा योजनालाई सार्थकता दिईने उनले बताए ।
कार्यक्रममा गाउँ शिक्षा योजना मस्यौदा कार्यदलका संयोजक एवम् सामाजिक विकास समितिका संयोजक २ नम्बर वडा अध्यक्ष राजेन्द्र घिसिङ, गाउँ शिक्षा समितिका सदस्य निर्मला सिन्तान, भवानी माविका प्रधानाध्यापक बालचन्द्र मल्ल लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा कैलाश–१ का वडा अध्यक्ष तेजबहादुर ब्लोन, ३ नम्बर वडा अध्यक्ष देवलाल बल, ७ नम्बर वडा अध्यक्ष उदासकुमार भोलन, ८ नम्बर वडा अध्यक्ष आषिश प्रजा, ९ नम्बर वडा अध्यक्ष भूवन सिं घलान, शिक्षा शाखा प्रमुख समिर जोशी, कैलाश गाउँपालिकाका सामूदायिक विद्यालयका प्रधानाध्यापकहरु र बाल क्लब सञ्जालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।






