हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)ले यसवर्ष विज्ञान संकायमा भर्ना भएका सम्पूर्ण विद्यार्थीलाई नि:शुल्क अध्यापन गराउने भएको छ ।
१६ नम्बर वडा कार्यालयले शिक्षाको विकास र सामाजिक उत्तरदायित्व स्वरूप जनप्रियमा विज्ञान संकाय अध्ययन गर्ने सबैलाई नि:शुल्क पठनपठनको व्यवस्थापन गर्न लागेको हो ।
आफ्नो वडामा रहेको नमूना विद्यालय जनप्रिय माविलाई दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाउन यो अभियान सञ्चालन गरिएको वडा अध्यक्ष तथा उपमहानगरपालिकाको सामाजिक विकास समिती संयोजक रामकृष्ण कोइरालाले जानकारी गराए । देशमा विज्ञान तथा गणित विषयका जनशक्तिको अभाव भएको र शिक्षामा दक्ष जनशक्ति भित्र्याउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको अभियान उदाहरणीय हुने उनको दाबी छ ।
विज्ञान सङ्काय सामान्य परिवारका व्यक्तिलाई महंगो पर्ने र इच्छा भएर पनि अन्य साधारण धारका विषयतर्फ अध्ययन गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्न समेत यसलाई धेरै सरोकारवालाले उदाहरणीय कार्यका रुपमा लिएका छन् ।







