जेन-जीको पक्षमा नेपाल प्रेस युनियन मकवानपुर
सरकारले नागरिकको सार्वभौम अधिकार कुण्ठित गर्न खोजेको आरोप

हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले जेन-जी पुस्ताद्वारा सुरु गरिएको भ्रष्टाचारविरोधी आन्दोलनमाथि सरकारबाट भएको दमनप्रति घोर आपत्ति जनाएको छ ।

लोकतन्त्र, समाजवाद र वाक स्वतन्त्रताको पक्षमा उभिएको युनियन मकवानपुरले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनमाथि भएको दमन, गोली प्रहार र बर्बर हत्या अमानवीय र निन्दनीय भएको जनाएको हो ।

विज्ञप्तिमा पूर्वसूचना दिएर गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा विद्यार्थीमाथि गोली प्रहार गरी हत्या हुनु र सूचना संकलनमा खटिएका सञ्चारकर्मी घाइते हुनु नागरिक अधिकारमाथिको ठाडो हमला भएको उल्लेख छ ।

प्रेस युनियन मकवानपुरले सरकारलाई तत्काल जेन-जी पुस्ताले उठाएका मागहरू सम्बोधन गर्न, हिंस्रक गतिविधि रोक्न र घटनाको निष्पक्ष छानबिन गर्न कडा आग्रह गरेको छ ।

युनियनले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार मात्र नभई विगतका सबै सरकारहरूकै पालामा भ्रष्टाचार र बेथितिको जालो फैलिएको भन्दै नेताहरू र तिनका परिवारको वैभवशाली जीवनशैलीप्रति प्रश्न उठाउनु प्रत्येक नागरिकको स्वाभाविक अधिकार भएको स्पष्ट पारेको छ ।

जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रेस युनियन मकवानपुरले घाइते विद्यार्थी तथा सञ्चारकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.