नेपाल प्रेस युनियन मकवानपुरले एभिन्युज टेलिभिजनमा कार्यरत सञ्चारकर्मी प्रमोद राज साहनीलाई करिब एक वर्षदेखि पारिश्रमिक नदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
युनियन मकवानपुरले शुक्रबार जारी गरेको विज्ञप्तिमा श्रमजीवी पत्रकार ऐन, २०५१ र श्रम ऐन, २०७४ ले तोकेअनुसार कुनै पनि पत्रकार वा श्रमिकले गरेको श्रमको उचित पारिश्रमिक समयमै पाउनुपर्ने स्पष्ट व्यवस्था रहे पनि एभिन्युज टेलिभिजनले त्यसको अवहेलना गरेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार साहनीलाई लामो समयदेखि तलब नदिएको घटना प्रेस स्वतन्त्रता, पत्रकारको अधिकार र श्रमिक न्यायको दृष्टिले निन्दनीय छ ।’
युनियनले एभिन्युज टेलिभिजनको सम्बन्धित पक्षलाई तुरुन्तै साहनीको बक्यौता पारिश्रमिक उपलब्ध गराउन माग गर्दै तोकिएको समयसीमाभित्र समस्या समाधान नभए श्रमजीवी पत्रकारको हकहित र न्यायका लागि आन्दोलनमा उत्रनु पर्ने बाध्यता सिर्जना हुने चेतावनी समेत दिएको छ ।
नेपाल प्रेस युनियन मकवानपुरले पत्रकारको श्रमको सम्मान र हकअधिकारको संरक्षण नै स्वतन्त्र पत्रकारिताको आधार हो भन्ने आफ्नो अडान दोहोर्याएको छ । संस्था स्थापना कालदेखि प्रेस स्वतन्त्रता र पत्रकार अधिकारको पक्षमा वकालत गर्दै आएको उल्लेख गर्दै युनियनले सम्पूर्ण सञ्चारगृहलाई पत्रकारप्रतिको दायित्व र कानुनी कर्तव्यपालनमा जिम्मेवार बन्न पनि आह्वान गरेको छ ।
नेपाल प्रेस युनियन मकवानपुरद्वारा जारी विज्ञप्ति







