तिहारमा स्वदेशी उत्पादन प्रयोग गर्न प्रदेश सरकारको अपिल

बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगमा जोड दिएको छ।

मन्त्री मधुसूदन पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरूको महान् पर्व तिहार, छठ पर्वको अवसरमा कृत्रिम फूल र विदेशी उत्पादनको सट्टा स्वदेशमै उत्पादन भएका प्राकृतिक फूल र दुग्धजन्य वस्तुको प्रयोग गर्न सर्वसाधारणमा अपिल गरेका हुन् ।

तिहारमा गोदावरी, सयपत्री, मखमली लगायतका प्राकृतिक फूलको सांस्कृतिक र आर्थिक महत्व रहेको उल्लेख गर्दै मन्त्री पौडेलले पछिल्लो समय कृत्रिम फूलको अत्यधिक प्रयोगले किसानको आयमा कमी आएको र वातावरणमा समेत नकारात्मक असर परेको बताए । उनले स्वदेशमा उत्पादन भएका फूल प्रयोग गरी स्थानीय कृषकलाई सहयोग गर्न र प्लास्टिकका कृत्रिम फूलको प्रयोग नगर्न अनुरोध गरेका छन् ।

मन्त्रालयले प्रदेशका किसानलाई प्राकृतिक फूल उत्पादनमा प्रोत्साहित गरिरहेको र आगामी दिनहरूमा पनि यस्ता उत्पादनको संरक्षण तथा बजार प्रवर्द्धनका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ । साथै, मन्त्री पौडेलले स्वदेशमै उत्पादन भएका घ्यू, दही, पनीर, खुवा तथा मिष्ठान्नजस्ता दुग्धजन्य उत्पादनहरूको प्रयोग गर्न आग्रह गर्दै यसले किसान र दुग्ध उत्पादकको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

स्वदेशी उत्पादनको प्रयोग, वातावरणमैत्री व्यवहार र संस्कृतिप्रतिको सम्मानमार्फत समृद्ध र आत्मनिर्भर बागमती प्रदेश निर्माणमा सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उनले ‘शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वले सबैमा सुख, शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा प्रदान गरोस्’ भनी शुभकामना व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.