हेटौंडा । जेसीआई हेटौंडाले कार्तिक १८ देखि २२ गतेसम्म सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमुखी विभिन्न कार्यक्रमको आयोजना गरी ‘जेसीज सप्ताह–२०२५’ मनाउने भएको छ ।
जेसीआई हेटौंडाले हरेक वर्ष समुदायमुखी गतिविधि गर्दै जेसीज सप्ताह मनाउँदै आएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै सन् २०२५ का अध्यक्ष पंकजदास बानियाले कार्यक्रमको विस्तृत तालिका सार्वजनिक गर्दै यस वर्षका कार्यक्रमहरू समाजसेवा तथा युवा नेतृत्व विकासमा केन्द्रित हुने बताए ।
उनका अनुसार कार्तिक १८ गते विहान ७:०० बजे हेटौंडा–४ हुप्राचौरमा रक्तदान कार्यक्रम र त्यसपछि बिहान ८:३० बजे त्यही स्थानमा स्लो मोटरबाइक प्रतियोगिता हुनेछ । विनोद वाग्लेको संयोजकत्वमा रक्तदान कार्यक्रम र अशोक सिंहको संयोजकत्वमा मोटरबाइक प्रतियोगिता हुनेछ ।
कार्तिक १९ गते बिहान ७:०० बजे हेटौंडा–९ स्थित जेसीज सचिवालयमा अन्तर हेटौंडा जेसीज वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ । त्यसैदिन दिउँसो २:०० बजे हेटौंडा–४ को भुटनदेवी माध्यमिक विद्यालयमा साइबर सुरक्षासम्बन्धी जागरूकता कार्यक्रम सञ्चालन हुनेछ । वक्तृत्वकलाको संयोजन सृजनराज बज्राचार्य र साइबर सुरक्षासम्बन्धी कार्यक्रमको संयोजन विजय गोपालीले गर्नेछन् ।
कार्तिक २० गते बिहान ११:०० बजे जेसीज सचिवालयमै अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता हुनेछ, जसको संयोजन विवेक फुयालले गर्नेछन् ।
त्यसैगरी सरोज घिमिरेको संयोजकत्वमा कार्तिक २१ गते दिउँसो २:०० बजे मकवानपुरगढी गाउँपालिका-६, गुर्डाङमा खाद्य सामग्री वितरण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
सप्ताहको समापन कार्तिक २२ गते दिउँसो ४:०० बजे, हेटौंडा-९ स्थित जेसीज सचिवालयमा समापन तथा पुरस्कार वितरण समारोहका साथ हुनेछ । समापन कार्यक्रमको संयोजन विवेक बानियाले गर्ने बताइएको छ ।
जेसीआई हेटौंडा सन् २०२५ का कार्यकारिणी उपाध्यक्ष सन्तोष पराजुली यस वर्षको जेसीज सप्ताहका मूल कार्यक्रम संयोजक रहेका छन् ।
जेसीआई हेटौंडाले आयोजना गर्ने यी कार्यक्रमहरू समुदायमा सेवा भावना प्रवर्द्धन, सचेतना विस्तार तथा युवाहरूको नेतृत्व क्षमतामा उन्नति गर्ने लक्ष्यसहित अघि सारिएको जनाएको छ ।






