बकैयाको स्वास्थ्य संयोजकको कार्यशैलीमाथि प्रश्न, दुई चिकित्सकले दिए राजीनामा

मकवानपुर । बकैया गाउँपालिकास्थित बकैया आधारभूत अस्पतालमा स्वास्थ्य संयोजकको कार्यशैलीलाई लिएर विवाद चर्किएको छ ।

अस्पतालमा कार्यरत स्थायी स्वास्थ्यकर्मीलाई अन्यत्र सरुवा गर्ने तयारी गरिएको तथा स्वास्थ्य संयोजक निकट व्यक्ति र आफन्त–नातागोतासँग सम्बन्धित कर्मचारीलाई काजमा ल्याइएको भन्दै कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् ।

कर्मचारीहरूका अनुसार स्वास्थ्य संयोजकले गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइसम्बन्धी कानुनी व्यवस्था र प्रक्रियाविपरीत आफूअनुकूल निर्णय गर्न खोजेका छन्। स्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मीलाई हटाउने उद्देश्यले थप कर्मचारी काजमा ल्याएर दरबन्दीभन्दा बढी कर्मचारी देखाउने प्रयाससमेत भएको उनीहरूको दाबी छ ।

विवाद समाधानका लागि पीडित कर्मचारीहरूले गाउँपालिकाको न्यायिक समिति तथा गाउँपालिकामा निवेदन दिएका थिए । समस्या समाधान नभएपछि जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा समेत निवेदन परेको थियो । प्रमुख जिल्ला अधिकारीको पहलमा दुवै पक्षबीच छलफल भए पनि समस्या समाधान नभएको कर्मचारीहरूको गुनासो छ ।

कर्मचारीहरूले बिदा स्वीकृत नगर्ने, कार्यसम्पादन मूल्याङ्कनमा नम्बर नदिने तथा विभिन्न प्रशासनिक दबाब दिने चेतावनी आउने गरेको आरोप लगाएका छन् । यता, गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ सेवा ऐनमा स्थायी स्वास्थ्यकर्मीको सरुवाका लागि निश्चित प्रक्रिया र विशेष परिस्थितिको व्यवस्था रहेको उनीहरूको भनाइ छ ।
यसैबीच अस्पतालमा काम गर्ने वातावरण बिग्रिएको भन्दै दुई चिकित्सक डा. सुमित राजक र डा. सङ्गीत राईले गाउँपालिकासमक्ष राजीनामा दिएको बताइएको छ ।

चिकित्सकहरूले राजीनामा दिएपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै कर्मचारी तथा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

स्थानीयवासीले अस्पतालमा देखिएको विवादको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, कर्मचारीका लागि काम गर्ने वातावरण बनाउन तथा स्वास्थ्य सेवा प्रभावित हुन नदिन गाउँपालिका र सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.