रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नम्बर ४, दनुस्वांरा निवासी श्याम बहादुर पाख्रिनको जीवन यात्रा हजारौं नेपाली युवाको कथासँग मेल खान सक्छ ।
गरिबी, अवसरको खोजी, र विदेशको कठिनाइहरू । तर, उनको कथा अन्य प्रवासीहरूभन्दा भिन्न छ । विदेशबाट फर्किएर आफ्नै गाउँमा दिगो आयमूलक व्यवसाय स्थापना गरेका श्याम आज वार्षिक लाखौ रुपैयाँ आम्दानी गर्ने सफल किसानका रूपमा चिनिन्छन् ।
घरको आर्थिक अवस्था कमजोर भएकाले श्याम तीन वर्ष मलेसियामा श्रम गर्न गए । त्यहाँको कठिन परिश्रम र पारिवारिक सम्झनाले उनलाई गाउँ फर्केर केही गर्नुपर्छ भन्ने सोचाइ दियो । २०७२ सालमा उनी स्वदेश फर्किए । गाउँमा फर्किएपछि उनले श्रीमतीलाई किराना पसल सञ्चालन गर्न लगाए र आफैंले कुखुरा पालन सुरु गरे । तर, कोरोना महामारीले व्यवसायमा ठूलो घाटा पुर्यायो ।
व्यवसायमा चुनौती आए पनि श्याम निराश भएनन् । उनले २०७४ सालमा सुरु गरेको कफि खेतीलाई पुनः संचालन गर्ने निर्णय गरे । २०७६ सालमा ‘सुनौलो एकीकृत कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरी व्यवस्थित कृषि व्यवसाय सुरु गरे । आज उनको फर्ममा ४५ वटा बाख्रा छन् । दुई माउ बाख्राबाट सुरु गरेको बाख्रा पालन विस्तार गर्दै लगेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५० प्रतिशत अनुदान पाएर आधुनिक बाख्रा खोर निर्माण गरेपछि व्यवसाय अझ व्यवस्थित र फाइदाजनक बन्यो ।
श्यामले आफ्नै ५ रोपनी जग्गामा ५ सय भन्दा बढी कफिका बोट लगाएका छन् । साथै, एक रोपनीमा ५० बोट कागती खेती पनि गरेका छन् । आफ्ना आम्दानीको केही हिस्सा उनले सहकारीमा मासिक रूपमा बचत गर्दै आएका छन् । उनी भन्छन २ बर्ष भयो सहकारीमा बचत गर्न थालेको, अहिलेसम्म झिकेको छैन् । समस्या हुदा निकाल्छु ।
श्यामको सपना केवल आफ्नो आम्दानी बढाउनु मात्र होइन, गाउँका अन्य युवाहरूलाई पनि कृषि र पशुपालनमा प्रेरित गर्ने हो । उनी भन्छन्, ‘विदेश जानुको सट्टा आफ्नै माटोमा पसिना बगाउन सके, भविष्य यहीं बनाउँन सकिन्छ।’






