बागमती प्रदेशः नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्व नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक हेटौंडामा बसेको छ ।

मंगलबार शपथग्रहणपछि पदबहाली गरेका सबै मन्त्रीसहितको बैठक साँझ प्रदेश राजधानी हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो ।

बैठकले विपदसँग सम्बन्धित अत्यावश्कीय निर्णयसँगै सरकारको प्रवक्ता समेत तोकेको छ ।

बैठकले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री कृष्णकुमार तामाङलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

त्यसैगरी प्राकृतिक विपद्को कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बैठकले सरकारी निकाय लगायत अन्य संघसंस्थालाई आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत समन्वयकारी ढङ्गले परिचालन गरिने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिए । बैठकले प्रदेशभित्र उद्धार, राहत र प्रतिकार्यको लागि उच्चस्तरीय एकीकृत संयन्त्र बनाउने निर्णय गरेको उनले बताए ।

उक्त संयन्त्रको संयोजकत्व आन्तरिक मामिला तथा कानुन मन्त्रीले गर्नेछन् भने सम्बन्धित प्रशासनिक निकायका प्रमुखहरू सदस्यको रूपमा रहेन प्रवक्ता तामाङले जनाए । बैठकमा संयन्त्रलाई तयारी अवस्थामा राखी आवश्यक सामग्री तत्काल उपलब्ध गराउने समेत निर्णय भएको उनले बताए ।

प्रदेशभित्र बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिको कारण वासस्थान गुमेकाहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउने निर्णय समेत भएको मन्त्री तामाङले बताए ।

साथै बैठकले विपत्तिबाट क्षतिग्रस्त भएका सडकहरूको सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा तत्काल मर्मत गरी सवारी आवागमनको प्रबन्ध मिलाउने निर्णय समेत गरेको छ ।

बैठकले प्रदेशसभाबाट पारित गरेको सङ्कल्प प्रस्तावलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने र प्रदेशभित्र रहेको अति विपन्न सीमान्तकृत समुदाय, वनकरियाको उचित वासस्थानलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको एउटा अति सीमान्तकृत परिवारलाई मासिक पारिश्रमिकबाट घर निर्माण गरी हस्तान्तरण गर्ने घोषणा समेत गरेका छन् ।

आर्थिक अवस्थाको कारण स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीलाई निश्चित मापदण्डको आधारमा छात्रवृत्ति उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.