बागमती प्रदेशमा ९६ हजार गाईभैंसीलाई लम्पी स्किन विरुद्धको खोप

बागमती प्रदेशमा लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाईएको छ ।

प्रदेश सरकारले चलाएको सप्ताहव्यापी खोप अभियान अन्तर्गत प्रदेशभर गाई तथा भैँसीलाई खोप लगाईएको हो ।

लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादनमा गिरावट आउने, शरीर सुन्निने र जनावर अशक्त देखिने जस्ता लक्षणहरू देखिन्छन् । पछिल्लो समय चितवन जिल्लामा यो रोग तीव्ररूपमा फैलिएको छ । यही रोगको प्रभाव न्यूनिकरणका लागि खोप अभियानको सुरुवात ललितपुर जिल्लाबाट गरिएको थियो । भने त्यसपछि क्रमशः अन्य १३ वटै जिल्लामा अभियान सञ्चालन गरिएको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले जानकारी दिए ।

लम्की स्किन रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रम अन्तर्गत सिन्धुलीमा १० हजार ३ सय २८ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ । त्यसै गरिरामेछापमा ४ हजार ४ सय ३७ , काठमाडौँमा ४ हजार ३ सय ५०, ललितपुरमा ३ हजार ६ सय ६, भक्तपुरमा १ हजार ५ सय ४३, धादिङमा ६ हजार ५१, काभ्रेपलाञ्चोकमा ७ हजार ६ सय ९८ वटा गाईभैँसीमा खोप लगाइ सकिएको छ । त्यसै गरि नुवाकोटमा ७ हजार ७ सय २४, रसुवामा ३ हजार ६ सय ३४, दोलखामा ९ हजार ९ सय ८२, सिन्धुपाल्चोकमा ६ हजार २ सय ८४, चितवनमा ६ हजार १५ र मकवानपुरमा २४ हजार ६ सय ९५ गाईभैँसीमा लम्की स्किन रोग विरुद्धको खोप लगाइएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशभर कुल गाईको संख्या ६ लाख ९४ हजार २ सय १७ रहेको छ भने भैँसीको संख्या ५ लाख ४९ हजार १ सय ८२ रहेको छ । ती पशुहरूले वार्षिक रूपमा जम्मा ४ लाख ८१ हजार ७ सय ७१ मिल्क टन दूध उत्पादन गर्ने गरेका छन्। जिल्लागत रूपमा हेर्दा चितवनमा सबैभन्दा बढी दूध उत्पादन हुने गरेको देखिन्छ, जहाँ सात स्थानीय तहमा ९२ हजार २ सय ५६ गाई र ७२ हजार २ सय भैँसी छन्। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत खोप लगाउन सुरु गरिएको खोप कार्यक्रम निरन्तर अहिले पनि जारी रहेको मन्त्री पौडेलले बताए ।

आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेशमा मात्र ११ हजार २१८ गाई तथा भैँसी लम्पी स्किन रोगका कारण मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। सोही अवधिमा ३७ हजार ८९ गाईभैँसी संक्रमित भएका थिए भने कुल २ लाख ५६ हजार ७ सय ५९ पशु प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित भएका थिए । यसअघि नै प्रदेशभर २ लाख ४५ हजार २ सय २२ गाई तथा भैँसीलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.