मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाको वडा नम्बर १, मकरी यतिबेला पशुपालन र कृषिको एउटा ‘मोडल’ गाउँको रूपमा परिचित छ । वैदेशिक रोजगारीको बढ्दो लहर र गाउँका खेतबारी बाँझो छोड्ने परिपाटीका बीच यहाँका युवा तथा किसानहरूले भने आफ्नै माटोमा पसिना बगाएर मासिक लाखौँको कारोबार गरिरहेका छन् । जसमध्ये ड्राइभिङ र विदेश त्यागेर गोठमै भेटेका पाँच जनाको मिश्रित अनुभवका कथाहरू पठनीय छ ।
नेतृत्व र उद्यमको यात्रा: राममणी न्यौपाने
क्षितिज दुग्ध उत्पादक सहकारी संस्था, मनहरी-१ का अध्यक्ष ३३ वर्षीय राममणी न्यौपाने पशुपालन अभियानका एक पात्र हुन् । करिब ८ महिना अघि ५ वटा होलस्टाईन फ्रिजियन जातिका गाईबाट पशुपालन सुरु गरेका उनले ८ लाख रुपैयाँ लगानी गरेका थिए । हाल उनको गोठबाट दैनिक ५० लिटर दूध बिक्री भइरहेको छ, जसबाट मासिक करिब १ लाख आम्दानी हुन्छ भने खर्च कटाएर ५० प्रतिशत बचत हुने उनी बताउँछन् ।
न्यौपानेले गाईका लागि १२ कठ्ठामा सुपर नेपियर र मकैचरी जस्ता घाँस लगाएका छन् भने ८ कठ्ठामा २ सय ३० वटा सुन कागती-२ को खेती समेत गरेका छन् । ‘अबको एक वर्षमा २० वटा गाई पुर्याउने मेरो लक्ष्य छ,’ न्यौपानेले भने । उनको सहकारीले दैनिक ३४ सय लिटरसम्म दूध संकलन गर्दा वडामा मात्रै मासिक ६८ लाख रुपैयाँ भित्रिने गरेको बताए । उनले पालिकाद्वारा किसानहरूले उत्पादन गरेको दुधको बजार सुनिश्चित गर्न र समयमै भुक्तानी दिलाउने व्यवस्था मिलाएकोमा गाउँपालिका अध्यक्ष रंजन कालाखेतीलाई धन्यवाद व्यक्त गरे ।
२३ वर्षको प्रवासपछि फर्किएका देवराज
४९ वर्षीय देवराज न्यौपानेले आफ्नो जीवनको २३ वर्ष भारतमा ग्यास बुलेट गाडी चलाएर बिताए । तर, कोरोना महामारीपछि आफ्नै गाउँ फर्किएका उनले अब कहिल्यै नेपाल नछोड्ने निधो गरे । हाल उनी र उनकी श्रीमती मिलेर १२ कठ्ठामा व्यवसायिक रूपमा फर्सी, घिरौला, लौका, केरा, कागती र भेडे खुर्सानीको खेती गरिरहेका छन् ।
तरकारीबाट वार्षिक ५ लाख र १३ वटा गाईमध्ये ७ ओटा माउको दूधबाट वार्षिक १० लाखको आम्दानी गरिरहेका उनी अर्गानिक उत्पादनमा जोड दिने गरेका छन् ।
‘सरकारले विषादी प्रयोगमा रोक लगाउने भन्दापनि विषादी बिक्री वितरणमा चाई रोक लगाउनुपर्छ।’ उनले संघीय स्वास्थ्य र कृषि मन्त्रीलाई सुझाव दिँदै भने, ‘किसानलाई विषादी रहित तरकारी उत्पादन गर्न र आम जनतलाई अर्गानिक फल तथा सब्जी उपलब्ध गराउन नेपाल सरकारले आवश्यक कदम चाल्नैपर्छ’ ।
उनका अनुसार खेती किसानीको बेलामा मल, विउबिजनको समस्या भए तापनि तरकारीहरुमा सकेसम्म विषादी प्रयोग नगरी आफूले गौमूत्र र गोबर जस्ता अर्गानिक मल प्रयोग गर्ने गरेका छन् ।
राहदानी थन्काएर गाईपालनमा रमाए रामकुमार
राहदानी थन्काएर गाईपालनमा रमाएका अर्का युवा हुन् रामकुमार उप्रेती । उनी विदेश जाने अन्तिम तयारीमा थिए । तर, क्षितिज दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष न्यौपानेद्वारा गाईपालनको सल्लाहपछि ५ लाख लगानी गरेर ४ वटा गाई पाल्न थाले । अहिले उनी दूध बेचेरै मासिक ५० हजार भन्दा बढी कमाउँछन् र एक जनालाई रोजगारी समेत दिएका छन् । गाईपालनमा भविष्य देखेपछी उनले भने, ‘अब म विदेश जाँदिन’ ।
स्टेरिङ छोडेर गोठ रोज्ने युवाहरू: रामकुमार र विशाल
मकरीकै ३० वर्षीय रामकुमार खड्का ३ वर्ष अघिसम्म ट्रयाक्टर चलाउँथे । एउटा गाईबाट सुरु गरेको उनको यात्रा अहिले ८ वटा गाईमा पुगेको छ । दैनिक १ सय १० लिटरभन्दा बढी दूध बेच्ने खड्काको मासिक आम्दानी २ लाख ५० हजार छ । जसमा १ लाख भन्दा बढी बचत हुन्छ । उनले एक जनालाई रोजगारी समेत दिएका छन् ।
त्यस्तै, ड्राइभिङ पेशा छोडेर पशुपालनमा लागेका विशाल उप्रेतीले साढे चार लाख लगानीमा ४ वटा गाई पालेका छन् । उनका अनुसार दूध बेचेरै महिनाको ८० हजार बचत हुने भएपछी अर्काको नोकरी गर्नु आवश्यक छैन् । ‘हामी जस्तो युवाले सधैभरी अरुको काम गरेर हुँदैन । आफ्नै कृषि व्यवसायी अंगाल्नु पर्छ भन्ने सोचले गाई पालन गरेको हुँ,’ उनी भन्छन्, ‘यो पेशा युवा अवस्थामा गर्ने हो, बुढेसकालमा गरेर हुँदैन,’ । मेहनत अनुसारको मुनाफा भएकोमा उनी निकै सन्तुष्ट छन् ।
गाउँपालिकाको नीतिले बदलियो दुग्ध किसानको नियति
मनहरी गाउँपालिकाले दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने र सहकारी मार्फत भुक्तानीको सहज व्यवस्था गरिदिएका कारण यहाँका किसानहरू ढुक्क छन् । पालिकाभरि दैनिक करिब १४ हजार लिटर दूध संकलन हुने गरेको छ । गाउँपालिकाले २०८१ कात्तिक १ गते किसानको दूध खरिद गरी भुक्तानी दिने सम्झौता लागू गरेकै कारण मनहरीमा पशुपालनतर्फ युवाहरुको आकर्षण बढेको पाइएको छ ।







