हेटौंडा | हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले शुक्रबार हेटौंडा अस्पतालको अनुगमन गरेका छन् ।
उपमेयर बानियाँले नयाँ भवनमा सरेर सेवा सुरु गरेको अस्पतालको सेवा प्रवाह र समस्या लगायतका विषयमा बुझेका छन् ।
उपमेयर बानियाँले अनुगमनका क्रममा अस्पतालमा उपचार गराइरहेका डेंगु रोगको विरामीहरुको अवस्था समेत बुझेका छन् । केहीदिन यता हेटौंडासहित मकवानपुरका विभिन्न स्थानीय तहहरुमा फैलिएको डेंगुका कारण संक्रमित हुनेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
उनले अस्पतालको आकस्मिक कक्ष, बहिरंग सेवा, फार्मेसी, टिकेट काउण्टरलगायतको अनुगमन गरेका थिए । विरामीको अत्याधिक चाप रहेको अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीहरुले लामो समय कुर्नुपर्ने बाध्यता रहेको उपमेयर बानियाँसंग गुनासो गरेका थिए ।
सर्वसाधरणले उपमेयर बानियाँसंग टिकट काट्न, चेकजाँच गर्न र फार्मेसीबाट औषधि लिन धेरै समय लाइन बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका थिए । उपमेयर बानियाँले अस्पतालमा उपचाररत बिरामीहरुसंग भेट गर्दै अस्पतालका समस्याहरु समाधानका लागि पहल गर्ने र सुधारका काममा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।
उपमेयर बानियाँले अस्पतालका मेडिकल सुपेरीटेण्डेण्ट डा.रामचन्द्र सापकोटालाई अस्पतालको सेवा चुस्तदुरुस्त राख्न र स्वास्थ्य उपचार सेवामा आम नगरिककोको सहज पहुँच हुने अवस्थाको सृजना गर्न निर्देशन समेत दिएका थिए ।
डा. सापकोटाले बढ्दो बिरामीको चापका कारण हाल कार्यरत रहेका कर्मचारी अपुग रेहको र नयाँ कर्मचारी भर्ना प्रक्रिया चलिरहेको जानकारी गराएका थिए । उनले नयाँ कर्मचारी नियुक्ति भएलगतै अस्पतालमा टिकेट काउण्टर, फार्मेसी लगायतको भिड कम हुने जानकारी गराएका थिए ।
उपमेयर बानियाँले अस्पताल सुधारको लागि हेटौंडा उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने र अनुगमनलाई पनि निरन्तरता दिने बताएका छन् ।