बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाज्यूले विहिबार विज्ञान, प्रविधि, नवप्रवर्तन सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
२०८१ साउन १६ गते प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुख समक्ष पेश भएको विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक देवकोटाले प्रमाणीकरण गरेका हुन् ।
प्रमाणीकरण भएपछि अब यो विधेयक ‘विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष ऐन, २०८१’ को नाममा रहनेछ ।
विज्ञान प्रविधिका विविध क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान, आविष्कार र नवप्रवर्तनमा गरिने लगानीबाट विकसित, प्रविधियुक्त, गुणस्तरीय र परिणाममुखी नतिजाको माध्यमबाट आर्थिक विकास र नागरिकको जीवन पद्धतिलाई सरल तथा सहज बनाउँदै प्रदेशको समृद्धिमा योगदान पुर्याउने मुलभूत उद्देश्यले यो विधेयक निर्माण गरिएको हो ।