नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले राजनीतिमा पनि कुलिङ पिरियड राख्नुपर्ने बताएका छन् ।
शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले निजामती कर्मचारीमा मात्र नभई राजनीतिमा पनि कुलिङ पिरियड राख्नुपर्ने बताएका हुन् ।
नेपालीले नागरिकता छोडेर अर्को देशको नागरिक बन्नासाथ नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिएर आम निर्वाचन लड्ने प्रवृत्ति देखिन थालेको भन्दै उनले राजनीतिमा पनि कुलिङ पिरियड आवश्यक रहेको तर्क गरेका हुन् ।
विगतमा यस्तो व्यवस्था नभएको कारण कुनै विदेशी नागरिक पनि देशको उपप्रधानमन्त्री जस्तो गरिमामय र संवेदनशील पदमा पुगेको भन्दै भट्टराईले कुलिङ पिरियड राख्न जरूरी रहेको बताए ।
‘यसो हुन नसकेमा आज विदेशी नारिकता छोडेको आधिकारिता पुष्टि नहुँदै चुनावमा उम्मेदवार बनेर लड्ने कदमले नेपाल राष्ट्रमाथि नै खतरा पैदा गर्छ,’ भट्टराईले भने ।
उनले कांग्रेस महाधिवेशन ढिलोमा पनि २०८३ को मंसिरभित्र हुनुपर्ने बताए। पछिल्ला निर्वाचनमा कांग्रेसको मत घटिरहेको भन्दै उनले यसको गम्भीर विश्लेषण गरेर ठोस कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।
उनले पार्टीभित्र गुट अन्त्य गरिनुपर्ने पनि बताए। उनले संगठन निर्माणका लागि सामाजिक सञ्जाल प्लेटफर्म पनि रहेको भन्दै त्यसको राम्रोसँग प्रयोग गर्नुपर्ने बताए ।
(सेतोपाटी)







