हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आफ्ना कार्यकर्ताहरुलाई अनुशासनमा बस्न आग्रह गरेका छन् ।
आइतबार हेटौंडामा आयोजित तहगत सभापतिहरूको विशेष पुनर्ताजगी कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पार्टीभित्रको आन्तरिक विषयमा कार्यकर्ताले सामाजिक सञ्जाल र सार्वजनिक स्थलमा अनावश्यक टिकाटिप्पणी गर्दा पार्टीप्रति आमनागरिकमा नकारात्मक धारणाको विकास भइरहेकोभन्दै कार्यकर्ताहरुलाई अनुशासनमा बस्न निर्देशन दिए ।
‘अहिले कांग्रेस पार्टीभित्र र बाहिर विभिन्न विषयमा अनुशासनका प्रश्नहरु उठिरहेका छन् । हरेक पार्टीभित्र आन्तरिक चुनौतीहरु स्पष्टरुपमा देखिएका छन् । तर, हाम्रो पार्टीको नेतृत्व तहमा रहेकाबाटै गैरजिम्मेवार अझिव्यक्ति र अनुशासनहित त्रियाकलापहुँदा समस्या भइरहेको छ ।’, बानियाँले कांग्रेसको गौरवमय इतिहास राणा शासनको अन्त्यदेखि लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका आन्दोलनहरूसँग जोडिएको बताए ।
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपाध्यक्ष धर्मराज लामिछानेले स्वागतम मन्तव्य व्यक्त गरेका थिए । कांग्रेस जिल्ला सचिव भीमसेन महतले क्रियाशील सदस्यताको वितरण, सचिव इश्वर पाठकले तरुण दलको निर्वाचन, सहसचिव इन्दिरा न्यौपानेले महिला संघको निर्वाचनको विषयमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका अनुशासन विभाग संयोजक प्रभातकुमार दाहालले कांग्रेस लामो विरासत बोकेको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएको बताए । ‘पार्टीभित्र स्वस्थ बहस गर्न पाइन्छ तर अराजक हुन पाइन्न,’ दाहालले पार्टीको मर्यादा र गरिमा कायम राख्न जोड दिए ।
दाहालले अनुशासनहीनताका साथै युवाहरूको घट्दो आकर्षण पनि कांग्रेसका लागि अर्को ठूलो चुनौती बनेको बताए । युवाहरूलाई पार्टीका काममा सक्रिय हुन नेता दाहालले आग्रह गर्दै कांग्रेसको नेतृत्वमा मात्रै देशले आर्थिक र सामाजिक रूपमा समृद्धि हासिल गर्ने बताए ।







