मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा ५ सदस्यीय प्रदेश संसदीय दल निर्वाचन समिति गठन गरेको छ ।
मंगलबार प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा ललितपुरमा रहेको पार्टीको प्रदेश सम्पर्क कार्यालयमा बसेको कार्य सम्पादन समितिको बैठकले बागमती प्रदेश संसदीय दलको नेता चयन गर्नको लागि निर्वाचन समिति गठन गरेको हो ।
निर्वाचन समितिमा प्रदेश महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, प्रदेश सदस्य सानु श्रेष्ठ र गंगा दाहाल सदस्य रहेका छन् । समितिले संसदीय दलको निर्वाचनका लागि आवश्यक प्रक्रिया अघि बढाउने छ ।
बैठकले प्रदेश सरकार गठनका लागि केन्द्रसँगको सहकार्यमा बागमतीमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने वा अन्य विकल्पमा जाने बारे निर्णय लिन बागमती प्रदेश सभापति बानियाँलाई अधिकार दिने निर्णयसमेत गरेको उपसभापति तथा निर्वाचन समितिका संयोजक महर्जनले बताए ।