हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको विरासतलाई अखिल (क्रान्तिकारी) ले भत्काउँदै नयाँ ईतिहास रचेको छ ।
वर्षौंदेखि अनेरास्ववियुले जित्दै आएको मकवानपुर बहुमुखी क्याम्पसमा यसपटक अखिल (क्रान्तिकारी) ले ब्रेक लगाएको हो ।
आइतबार भएको स्ववियु निर्वाचनको मतगणना पश्चात् सोमबार बिहान प्राप्त अन्तिम मतपरिणामबाट सभापतिमा अखिल (क्रान्तिकारी) का छोइसाङ लामा तामाङ अध्यक्ष विजयी भएका छन् ।
उनले ८ सय १३ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका नवराज शर्मा पौडेलले भने ६ सय ८२ मत प्राप्त गर्दै पराजय व्यहोर्नु परेको छ ।
नेकपा एमाले संसदीय दलका सचेतसमेत रहेका महेश बर्तौलालगायत मकवानपुरबाट नेपाली राजनीतिमा चर्चित एमाले नेताहरु मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सभापती भइसकेका छन् ।
त्यसैगरी स्ववियुको सचिवमा अखिल (क्रान्तिकारी) का बर्षाद घिमिरेले ७ सय ६७ मत ल्याउँदै विजयी भएका छन् । उनका सचिवमा प्रतिस्पर्धी रहेका अनेरास्ववियुका विश्वास पराजुलीले ७ सय ५० मत ल्याएका थिए ।
कोषाध्यक्षमा भने अनेरास्ववियुकि हिमानी कुमारी सुवेदीले ८ सय ४ मत ल्याउँदै जित हात पारेकी छन् । उनका निकटतम प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)का उद्धव प्रसाद अधिकारीले ७ सय २ मत प्राप्त गरे ।
खुल्ला सदस्यहरुमा अनेरास्ववियुबाट कुशल पराजुली (८०१), प्रसिद्ध रेग्मी (७६६), प्रशन श्रेष्ठ (७६६), दिपेश कार्की (७६६), झरना थिङ (७५५) तथा अखिल (क्रान्तिकारी)बाट नारायण सुवेदी ‘निर्जल’ (७८१), राहुल डिम्डुङ (७६६) र सुजन सिलवाल (७५५) विजयी भएका छन् ।
मकवानपुर बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसले प्यानल बनाएका थिए ।